कार्तिक १७ । कपिलवस्तुको तौलिहवामा सम्पन्न निजी विद्यालयस्तरीय खुला क्रिकेट प्रतियोगिताको उपाधि सनसाइन इङ्ग्लिस बोर्डिङ स्कुलले जितेको छ । कपिलवस्तु कालिका युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा सिद्धार्थ विद्यामन्दिर इङ्ग्लिस बोर्डिङ स्कुललाई पराजित गर्दै सनसाइनले उपाधि हात पारेको हो ।
९३ रनको विजयी लक्ष्य पछ्याएको सनसाइनले ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित निकालेको थियो । बुद्धपद्म माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा सनसाइनका आकाश यादव म्यान अफ द म्याच घोषित हुनुभयो । त्यस्तै, सनसाइनकै सफिक खान म्यान अफ द सिरिज घोषित हुनुभयो ।
प्रतियोगितामा कपिलवस्तुका ८ वटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो । सहभागी विद्यालयमा सगरमाथा, शान्ति निकेतन, बुद्धज्योति, वेस्ट पोइन्ट, सनसाइन, सेन्ट जुडेस, सिद्धार्थ विद्यामन्दिर र प्याराडाइज चिल्ड्रेन एकेडेमी रहेका थिए ।
प्रतियोगिताको समापन कार्यक्रम क्लबका अध्यक्ष सरोज डफालीको अध्यक्षता तथा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कपिलवस्तु क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरे, वरिष्ठ प्रशासकीय अधिकृत पदमराज श्रेष्ठ, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रविन्द्रप्रसाद तिवारी, बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोमबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।
भुपाल थापाबाट









