कार्तिक १७ । कपिलवस्तुमा मतदाता नामावली अद्यावधिक गर्ने क्रममा ३ हजार ४७६ जनाको नाम हटाइएको छ । दोहोरो नाम दर्ता भएका र मृत्यु भएका व्यक्तिको विवरण परीक्षण गरी जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले उनीहरूको नाम मतदाता नामावलीबाट हटाएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हटाइएकामध्ये ३ हजार २१ जना दोहोरो नाम दर्ता भएका मतदाता हुन् भने ४ सय ५५ जनाको मृत्यु भइसकेको छ ।
कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानका अनुसार निर्वाचन आयोगको प्रणालीमार्फत विवरण परीक्षण गर्दा दोहोरो नाम दर्ता भएका मतदाताको पहिचान गरी नाम हटाइएको हो । त्यस्तै, सम्बन्धित वडा कार्यालयबाट प्राप्त मृत्यु दर्ताको विवरणका आधारमा मृत्यु भएका व्यक्तिको नामसमेत मतदाता नामावलीबाट हटाइएको उहाँले जानकारी दिनुभयो ।
मतदाता नामावलीलाई त्रुटिरहित र अद्यावधिक बनाउने उद्देश्यले विवरण परीक्षण गरी नाम हटाइएको कार्यालयले जनाएको छ । कार्यालयले नाम हटाइएका मतदाताको विवरणसमेत सार्वजनिक गरेको छ ।
यसअघि गत फागुनमा सम्पन्न संसदीय निर्वाचनका बेला कपिलवस्तुमा कुल ३ लाख ९६ हजार २६५ मतदाता रहेका थिए । जिल्लामा १० वटा स्थानीय तह र ३ वटा निर्वाचन क्षेत्र छन् ।
भुपाल थापाबाट









