चन्द्रौटा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर २८ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
बाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्की र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीलाई देखेपछि भाग्न खोजेका दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का सलाउद्दिन मुसलमान र बाणगंगा नगरपालिका–६ का उमेश थारु रहेका छन्।
प्रहरीले उनीहरू सवार भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको अवस्थामा २८ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार संयुक्त टोलीले दुवै जनालाई नियन्त्रणमा लिएर जाँच गर्दा लागूऔषध फेला पारेको हो।
लागूऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिएको जनाएको छ।









