कार्तिक १६ । कपिलवस्तुमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको छ । विदेशमा स्थायी बसोवास गर्ने र विदेशी नागरिकता लिने क्रम बढेसँगै नेपाली नागरिकता त्याग्नेको संख्या पनि वृद्धि भएको हो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो पाँच वर्षमा ४८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । चालु आर्थिक वर्षको चार महिनामै ६ जनाले नागरिकता त्यागिसकेका छन् ।
कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ९ जना, २०८०/८१ मा ५ जना, २०८१/८२ मा ९ जना र २०८२/८३ मा १९ जनाले नेपाली नागरिकता परित्याग गरेका थिए । गत आर्थिक वर्ष नागरिकता त्याग्नेको संख्या अघिल्ला वर्षको तुलनामा उल्लेख्य बढेको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार पछिल्लो समय नागरिकता परित्याग गर्नुका कारणमा पनि परिवर्तन देखिएको छ । यसअघि मुख्यगरी भारतीय नागरिकसँग विवाह गरी भारतमै बसोवास गर्नेहरूले नागरिकता त्याग्ने गरेकोमा अहिले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता लिने उद्देश्यले पनि नागरिकता परित्याग गर्नेहरू बढेका छन् ।
वैवाहिक सम्बन्ध, अध्ययन, रोजगारी तथा विदेशमा स्थायी बसोवास गर्ने उद्देश्यले नागरिकता त्याग्ने गरेको सूचना अधिकारी घिमिरेले बताउनुभयो । विशेषगरी अमेरिका, अस्ट्रेलिया र युरोपेली मुलुकमा बसोवास गर्दै आएका नेपालीले त्यहाँको नागरिकता लिने प्रक्रियाका क्रममा नेपाली नागरिकता परित्याग गर्ने गरेको उहाँको भनाइ छ ।
विदेशी नागरिकता प्राप्त गर्ने प्रक्रियामा रहेका तथा भारतीय नागरिकता लिन चाहने केही व्यक्तिले समेत नेपाली नागरिकता खारेज गर्न निवेदन दिने गरेको प्रशासनले जनाएको छ ।
घिमिरेका अनुसार लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका, डीभी तथा पीआर लिएर विदेशमा बसोवास गरिरहेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका व्यक्तिहरूले नागरिकता परित्याग गर्ने गरेका छन् ।
विदेशमा स्थायी बसोवास र त्यहाँको नागरिकता प्राप्त गर्ने आकर्षणसँगै कपिलवस्तुमा नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दै गएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाएको छ ।
भुपाल थापाबाट









