कपिलवस्तु । नेपाली कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल ‘बलदेवले पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने बताउनुभएको छ ।
जेनजी आन्दोलनपछि पुराना राजनीतिक दल र नेतृत्वप्रति नकारात्मक धारणा बढेको उल्लेख गर्दै उहाँले पार्टीलाई समयअनुसार रूपान्तरण गर्न युवालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
शनिबार तौलिहवामा नेपाली कम्युनिष्ट पार्टी कपिलवस्तुको दुईमहिने राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै खनालले सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा तत्कालीन सरकार गम्भीर हुन नसकेको आरोप लगाउनुभयो । उहाँले पार्टी एक्लै निर्वाचनमा सहभागी भए पनि लुम्बिनी प्रदेशका तीन दर्जनभन्दा बढी क्षेत्रमा जित हासिल गर्ने दाबी गर्नुभयो ।
पार्टीका लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खानले जागरण अभियान संगठन विस्तारमा मात्र सीमित नभई जनताका समस्या, आवश्यकता र अपेक्षा बुझ्ने माध्यम भएको बताउनुभयो । जनताको विश्वास जित्न जनजीविका, सुशासन, सामाजिक न्याय र समृद्धिका मुद्दालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
जिल्ला इन्चार्ज सुकई थारुका अनुसार अभियानमा सदस्यता तथा संगठन विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारी र सरकारका गलत कदमबारे जनतालाई सचेत गराउने कार्यक्रम सञ्चालन गरिनेछ ।
अभियानका लागि जिल्लाका १० वटै स्थानीय तहमा कार्यक्षेत्र विभाजन गरिएको छ । पालिका तथा वडा बैठक, देउसीभैलो, खेलकुद, सांस्कृतिक कार्यक्रम, सरसफाइ, प्रशिक्षण र प्रत्येक पालिकामा कम्तीमा एकपटक श्रमदान कार्यक्रम सञ्चालन गरिने पार्टीले जनाएको छ ।
जिल्ला संयोजक फैजल खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो । कार्यक्रमको स्वागत करिष्मा चन्द र सञ्चालन जिल्ला सहसंयोजक दिनेश मगरले गर्नुभएको थियो ।









