कार्तिक १३। कपिलवस्तु नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुने अटो तथा ई–रिक्साको दर्ता र नियमनलाई तीव्रता दिएको छ । नगरपालिकाले हालसम्म ५२ वटा तीनपाङ्ग्रे सवारी साधन दर्ता गरेको छ । नगरपालिकाले तीनपाङ्ग्रे सवारी साधन सञ्चालन, व्यवस्थापन तथा नियमन ऐन, २०८२ अनुसार सवारी साधन दर्ताका लागि तीन पटक सूचना प्रकाशन गरेको थियो ।
२०८३ जेठ ८, असार १९ र भदौ २६ गते सूचना जारी गरेपछि हालसम्म ५२ वटा अटो तथा ई–रिक्सा दर्ता भएका हुन् । यसैक्रममा नगरपालिकाले आज प्रशासन चोक क्षेत्रमा सञ्चालन भइरहेका सवारी साधनको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा आठवटा सवारी साधन जाँच गर्दा केहीमा नगरपालिकामा दर्ता नभएको, ब्लुबुक साथमा नराखेको र चालक अनुमतिपत्र नभएको जस्ता कैफियत भेटिएको नगरपालिकाले जनाएको छ । कैफियत देखिएका सवारी साधनमाथि नियमानुसार कारबाही गरिएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत कृष्णनाथ पाण्डेले बताउनुभएको छ ।
नगरपालिकाले अब सवारी साधनको शुल्क निर्धारण र नियमित अनुगमनमार्फत तीनपाङ्ग्रे सवारी सञ्चालनलाई व्यवस्थित बनाउने योजना रहेको जनाएको छ ।
भुपाल थापाबाट









