कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ को आयोजनामा विजयनगरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा जोड दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका संसदीय दलका उपनेता एवं सांसद अभिषेक प्रताप शाहले आगामी स्थानीय तह निर्वाचनमा कपिलवस्तुका सबै पालिकामा कांग्रेसले जित हासिल गर्ने बताउनु भयो । राजनीतिक लहर आगामी निर्वाचनमा नदोहोरिने दाबी गर्दै जनताले विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व खोजिरहेको बताउनु भयो । आगामी निर्वाचनमा जनताको चाहना, उम्मेदवारको योग्यता र क्षमताका आधारमा पार्टीले टिकट वितरण गर्ने उहाँको भनाइ थियो।
सांसद शाहले पछिल्लो समय सञ्चारकर्मीमाथि भइरहेको धरपकडप्रति समेत असन्तुष्टि जनाउनु भयो । सञ्चारगृहमा प्रहरी पुगेर पत्रकार पक्राउ गरेको तथा अन्य पत्रकारको खोजी भइरहेको घटनाप्रति लक्षित गर्दै उहांले पत्रकारलाई निर्भयतापूर्वक पेसागत जिम्मेवारी निर्वाह गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामले पार्टीभित्रको एकता बलियो बनाएर निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो । संगठनलाई थप सक्रिय र सुदृढ बनाउन सके आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुने उहांको विश्वास थियो।
त्यस्तै, जिल्ला उपसभापति हुमाकान्त खनालले आपसी सहकार्य र एकताबाट मात्रै पार्टीले अपेक्षित सफलता हासिल गर्न सक्ने भन्दै सबै तहका नेता तथा कार्यकर्तालाई संगठन निर्माणमा केन्द्रित हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा पार्टी सचिव प्रेम रायमाझी, महासमिति सदस्य जम्सेर अली मियाँ, घनश्याम बानियाँ, रफिक मोहम्मद, हरि पोख्रेल, विशाल गुप्ता, मञ्जु विक, हरिपाल चतुर्वेदी, मधु पोख्रेल, रिजवान अहमद र निशा चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति गोविन्द केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।









