कपिलवस्तु । चन्द्रौटा उद्योग वाणिज्य संघको १५औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन आगामी पुस ४ गते हुने भएको छ। संघको कार्यसमिति बैठकले अधिवेशनको मिति तय गरेको हो। मिति घोषणा भएसँगै वर्तमान कार्यसमितिले निरन्तरता पाउने वा नयाँ अनुहारले नेतृत्व सम्हाल्ने भन्ने विषयले व्यवसायीमाझ चासो बढाएको छ।
२०७९ सालमा सम्पन्न अधिवेशनबाट ईश्वरीप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो। उक्त अधिवेशनमा पारसमणि पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए। उनी त्यसबेला अध्यक्ष पदका प्रबल दाबेदारसमेत मानिएका थिए।
त्यस्तै, वाणिज्य उपाध्यक्षमा दमन भाट र मकबुल खान, महासचिवमा राजकुमार यदा क्षेत्री, सचिवमा कपिलदेव खनाल, कोषाध्यक्षमा यज्ञप्रसाद पाण्डे र सहकोषाध्यक्षमा दलर्जन केसी निर्विरोध निर्वाचित भएका थिए। सदस्यहरूमा आश्मा अहमद, यमुना शर्मा, रविसेन ओली, माधव घिमिरे, अब्दुल रहमान, रामचन्द्र केसी, मधु सिग्देल, श्यामलाल बन्जाडे र लाल मोहम्मद पठान निर्वाचित भएका थिए। निर्वाचित कार्यसमितिले पछि केही उपाध्यक्षसमेत मनोनयन गरेको थियो।
संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले अधिवेशनलाई संस्थाको आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो। उहाँले नेतृत्वमा को आउने भन्नेभन्दा पनि संघलाई व्यवस्थित, सक्रिय र व्यवसायीमैत्री बनाउने विषय प्राथमिकतामा हुनुपर्ने धारणा राख्नुभयो। साथै, साधारण सभा तथा अधिवेशन सफल बनाउन सम्पूर्ण व्यवसायीलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो।
संघका महासचिव राजकुमार यदा क्षेत्रीका अनुसार अधिवेशनमा सहभागी हुन संस्थाको विधानबमोजिम सदस्यता नवीकरण अनिवार्य गरिएको छ। हालसम्म करिब ७० देखि ८० वटा संस्था मात्र नवीकरण भएको जानकारी दिँदै उहाँले बाँकी व्यवसायीलाई आगामी मंसिर १८ गतेभित्र अनिवार्य रूपमा नवीकरण गर्न आग्रह गर्नुभयो। संघले उक्त मितिलाई नवीकरणको अन्तिम समयसीमा तोकेको छ।
त्यस्तै, संघका उपाध्यक्ष नारायण भाटले नेतृत्वमा को कुन पदमा पुग्ने भन्नेभन्दा पनि संस्थालाई कसरी चलायमान र प्रभावकारी बनाउने भन्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नयाँ वा पुरानो जोसुकै नेतृत्वमा आए पनि व्यवसायीका समस्या समाधान, व्यावसायिक हितको संरक्षण र व्यवसायीबीचको एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
अधिवेशनको मिति नजिकिँदै जाँदा संघको आगामी नेतृत्वलाई लिएर व्यवसायी वृत्तमा चासो बढ्दै गएको छ। वर्तमान नेतृत्वले पुनः अवसर पाउने हो वा नयाँ अनुहारले नेतृत्वमा स्थान बनाउने हुन् भन्ने विषय अधिवेशनपछि स्पष्ट हुनेछ।









