कपिलवस्तु । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत राप्ती तथा बहादुरगंजद्वारा सञ्चालित आँखा अस्पतालहरूको सामाजिक परीक्षण कार्यक्रम बुधबार छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजमा सम्पन्न भएको छ।
कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक डा. सम्शेर थापाले अस्पतालको हालसम्मको सेवा, उपलब्धि, भावी योजना तथा रणनीतिबारे जानकारी गराउंदै हालसम्म ४२ लाख ६७ हजारभन्दा बढी सेवाग्राहीलाई ओपिडी सेवा प्रदान गरिएको छ भने २ लाख ५८ हजारभन्दा बढी मोतियाबिन्दुका बिरामीको उपचार गरिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सम्बोधन गर्दै नेपाल नेत्रज्योति संघले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म आँखासम्बन्धी उपचार सेवा पु¥याएर उदाहरणीय कार्य गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सामाजिक परीक्षणले पारदर्शिता, जवाफदेहिता र जनविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले आँखा स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको भन्दै स्थानीय तहले यस्ता स्वास्थ्य संस्थासँग सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले सामाजिक परीक्षणले अस्पतालको सेवा प्रवाहमा सुधार ल्याउने बताउँदै गुणस्तरीय, सुलभ र विश्वासिलो आँखा स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
यसैगरी, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले गरिब, विपन्न तथा दृष्टिविहीनताको जोखिममा रहेका नागरिकका लागि अस्पतालले पुर्याउँदै आएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा अस्पतालका प्रसासकिय अधिकृत जसराज बिस्वकर्माले अस्पतालको सेवा, उपलब्धि र व्यवस्थापन अवस्थाबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।











