- विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमान्डु गोर्खार्ज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
- यसपालि एनपीएलमा इंग्ल्यान्डका ७, अमेरिकाका ६, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका ५–५, नामिबियाका ४, न्युजिल्यान्डका ३, भारत, श्रीलंका, अफगानिस्तान र स्कटल्यान्डका २–२, इटाली र युगान्डाका १–१ खेलाडी
- विजेतालाई १ करोड ११ लाख, दोस्रो हुनेलाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथो हुनेलाई १५ लाख
गत वर्षको पहिलो संस्करणले प्रतियोगिताको जग बसाएको थियो, यसपल्टको संस्करणले तला थप्ने काम गर्नेछ । प्रतियोगिताले दोस्रो वर्ष छुँदा यससँग जोडिएको सबैभन्दा ठूलो परिवर्तन भनेकै त्रिवि क्रिकेट मैदान कीर्तिपुरको सानदार देखिने पुनःसंरचना र दर्शकदीर्घा हुनेछ । सँगै फ्लड लाइट्स पनि ।
अब नेपाली क्रिकेट समर्थकले पनि नयाँ स्वादले यो खेल आफ्नै आँखा अगाडि हेर्न पाउने छन् । दिनमा हुने क्रिकेटभन्दा राति फ्लड लाइट्समा हुने क्रिकेट धेरै अर्थमा फरक हुने गर्छ । खेलमा पार्ने प्रभाव त स्वाभाविक नै छ । त्योभन्दा ठूलो अबदेखि दर्शकले फुर्सदमा आरामले बिदाको मानसिकतामा क्रिकेट हेर्न पाउने छन् ।
यो तथ्य त अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सुरुदेखि नै मान्दै आएको छ । अब यिनै समर्थकले नेपाली क्रिकेटलाई धेरै अगाडिसम्म बढाउन सक्नेछ । जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीचको खेलसँगै प्रतियोगिता सुरु हुनेछ र यसबारे सुन्न पाइएको सबैभन्दा खुसीको समाचार हो, यसका सबै टिकट बिक्री भइसके । बिक्रीका लागि टिकट खुलेको २४ घण्टा नबित्दै सकिएको थियो ।
अब नेपाली दर्शकले मैदानमै गएर क्रिकेट हेर्नुको रोमाञ्चकता बुझिसकेका छन् । त्यसमाथि यी दर्शक फ्लड लाइट्समा हुने क्रिकेट कस्तो हुने हो, त्यसको ‘फर्स्ट ह्यान्ड’ अनुभव बटुल्न चाहन्छन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स टीभीबाट हुनेछ । यी दुई विकल्पबाहेक अब एनपीएल यू–ट्युबसहित कुनै पनि सामाजिक सञ्जालबाट हेर्न पाइने छैन, हेर्ने नै हो भने ओटीटीमा निर्भर हुनुपर्नेछ ।
त्यसको अर्थ के हो भने कोही क्रिकेट समर्थकले एनपीएल अर्को कुनै विकल्पमा हेर्ने हो भने निश्चित शुल्क तिर्नुपर्नेछ । त्यस्तै अब नेपाली क्रिकेटले यो खेल मन पराउने दर्शकबाट ठूलै रकम उठाउन सक्नेछन् र अन्ततः यो नै पछि गएर नेपाली क्रिकेटको विकासको आधार हुन सक्नेछ ।
यही दर्शकका साथमा क्यानले एनपीएलमा ४० करोड संकलन गर्ने विश्वास गरेको छ । त्यसमध्येको १५ करोड क्यानले टिकट बिक्री, ओटीटी र टेलिभिजन अधिकारबाट उठाउने लक्ष्य राखेको छ । त्यसबाहेक फ्रेन्चाइज नवीकरण शुल्कबाट क्यानले ९ करोड रुपैयाँ पाउनेछ ।
आठ फ्रेन्चाइज टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फ्रेन्चाइज क्रिकेटको अर्थ के हो भन्दा यस्ता प्रतियोगिताबाट कुनै पनि देशको सर्वोच्च संस्थाले मात्र कमाउने होइन, टिमले पनि कमाउनुपर्छ भन्ने हो । सायद यी फ्रेन्चाइज टिमले पहिलो वर्ष लगानी मात्रै गरे, कमाउनै पाएनन् । दोस्रो संस्करण आइपुग्दा अब कमाउने बाटो पनि तयार हुनेछ । अबदेखि यो एनपीएल खालि प्रतियोगिता मात्रै हुने छैन, यो त अबदेखि एउटा ठूलो उद्योग हुनेतर्फ अग्रसर हुनेछ, लगानी गर्नेले कमाउने पनि छन् ।
अर्को एउटा ठूलो कारणले पनि यसपल्टको प्रतियोगिता सफल हुन आवश्यक छ । यसको पृष्ठभूमि के छ भन्दा पछिल्ला केही समय देशकै लागि अनुकूल रहेन । देशले धेरै ठूला व्यवधान सामना गर्नुपरेको छ । तर जहिले पनि देश यसरी त चल्दैन । देश एकजुट र एकढिक्का हुनु नै पर्नेछ । त्यसैले क्यानले नारा नै दिएको छ, ‘क्रिकेट युनाइट्स नेपाल’ । अर्थात् ‘क्रिकेटले नेपाललाई एकताबद्ध गर्छ ।’
अब यही सन्देशयुक्त लोगो सबै आठै टिमको जर्सीमा हुनेछ, बीचमै सबैले देखिने गरेर । नेपाली क्रिकेटकै दृष्टिकोणबाट यो किन पनि आवश्यक छ भने जनवरीमा महिला ट्वान्टी–२० विश्वकपको छनोट नेपालमै हुँदै छ । नेपाली क्रिकेट इतिहासमै नेपालमै हुन लागेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ अनि आईसीसीको मान्यता प्राप्त प्रतियोगिताका रूपमा पनि ।
आईसीसीले नेपालको पछिल्लो घटनाक्रमलाई हेरेर यस प्रतियोगितालाई लिएर संयमित नीति अपनाएको छ र अहिलेसम्म यस्तै हुनेछ भनेर भनेको छैन । अहिलेको एनपीएल सफलतापूर्वक आयोजना हुने हो भने नेपालले मज्जाले भन्न सक्छ, हामी यो प्रतियोगिता आयोजना गर्न तयार छौं । आईसीसी आफैं पनि नेपालमा यो प्रतियोगिता कुनै व्यवधानबिना हुनेछ भनेर ढुक्क हुन सक्नेछ ।
ट्वान्टी–२० विश्वकप खेल्न जानु ठीक अघि नेपालले वेस्ट इन्डिजसँग तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । पछिल्लो घटनाक्रमले देश अस्तव्यस्त भइरहेको समयमा यस शृंखलालाई ‘युनिटी कप’ नाम दिएको थियो । जित–हार आफ्नो ठाउँमा छ तर युनिटी कपले नेपाली जनतालाई राहतको मलम लगाउने कार्य गरेको थियो ।
जति बेला प्रतियोगिता सुमधुर रूपमा सञ्चालन हुँदै मंसिर २७ मा हुने फाइनलसँगै च्याम्पियन हुने टिम निश्चित हुनेछ, त्यति बेला एउटा टिमले मात्र जित्ने छैन, नेपाली क्रिकेट नै विजयी हुनेछ ।
नटराजनको स्थानमा सोनु
काठमान्डु गोर्खाजले एनपीएलका लागि सोनु देवकोटालाई टोलीमा समावेश गरेको छ । ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी नटराजन साह घाइते भएपछि सोनु देवकोटालाई आफ्नो टोलीमा समावेश गरिएको काठमान्डु गोर्खाजले जनाएको छ ।
कात्तिक १९ मा भएको ट्यालेन्ट हन्टबाट उत्कृष्ट हुँदै नटराजन ‘आइकोनिक खेलाडी’ का रूपमा गोर्खाजको टोलीमा समावेश भएका थिए । तर अभ्यासका क्रममा उनी घाइते भएको गोर्खाजका प्रशिक्षक वसन्त शाहीले जनाए । शाहीका अनुसार नटराजनको बायाँ खुट्टाको मांसपेशी तन्किएको छ र उनी कम्तीमा दुई साता खेल्न सक्दैनन् ।
ट्यालेन्ट हन्टबाट गोर्खाजले ५ खेलाडीलाई डेभलपमेन्ट टोलीमा राखेको थियो । सोही टोलीमा रहेका सोनु देवकोटाले नटराजनको स्थानमा गोर्खाजको टोलीमा स्थान लिएका हुन् । लेग स्पिन अलराउन्डर सोनुले यसअघि नै बागमती प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।









