शिवराज, कपिलवस्तु ।नेकपा (एमाले) का केन्द्रीय सदस्य बलाराम अधिकारीले प्रतिनिधि सभा पुनःस्थापनाको आवश्यकता अहिलेको समयको प्रमुख माग भएको बताउँदै आगामी कार्तिक २९ गते वाणगंगामा आयोजना हुने जिल्ला स्तरीय आमसभामा शिवराज क्षेत्रबाट उल्लेखनीय सहभागिता जनाउन आग्रह गर्नुभएको छ ।
एमाले शिवराज नगर कमिटीले आयोजना गरेको जनजागरण कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले नेपाललाई कमजोर पार्न विदेशी शक्तिहरू आन्दोलनको नाममा हावी भएको आरोप लगाउँदै राष्ट्रिय स्वाभिमानको रक्षाका लागि एमाले कार्यकर्ताहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा एमाले शिवराज नगर कमिटीका अध्यक्ष महादेव पोखरेलले जिल्ला कमिटीको सर्कुलरअनुसार शिवराज नगरबाट कम्तीमा १ हजार ५ सय कार्यकर्ता सहभागी गराउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सबै टोल, वडा र कमिटीहरूलाई जिम्मेवारीपूर्वक लाग्न आह्वान गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सदस्य साधुराम खनाल, प्रदेश सदस्य नेत्रराज अधिकारी, लंक हमाल, अर्जुन केसी, शिवकुमारी चौधरी, जिल्ला सचिव चन्द्रबहादुर गहतराजलगायतका नेताहरूले पनि सम्बोधन गर्नुभएको थियो ।











