कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित घरबाट दुई दिनअघि बेपत्ता भएकी दुई वर्षीया बालिकाको शव सोमबार बिहान फेला परेको छ ।
मायादेवी–१ का अमित कुमार ओझाकी छोरी मान्सा ओझा गत शुक्रबार (कार्तिक २२ गते) बिहान करिब १० बजे आफ्ना पाँच वर्षका दाजुसँग घर नजिकै खेल्न निस्किएकी थिइन् । केही बेरपछि दाजु एक्लै फर्किए पनि मान्सा घर नआएपछि परिवारले खोजतलास सुरु गरेको थियो ।
स्थानीयवासी र प्रहरीको सहयोगमा दुई दिनसम्म खोजी गरेपछि बालिकाको शव घरदेखि करिब ३ किलोमिटर दक्षिणमा पर्ने मर्थी खोला, जसले मायादेवी गाउँपालिका–१ र सुद्धोधन गाउँपालिका–६ लाई छुट्याउँछ, त्यहीँको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको छ र प्रारम्भिक अनुसन्धान भइरहेको छ । शवलाई परीक्षणका लागि कपिलवस्तु अस्पताल तौलिहवामा लगिएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति बुझ्न थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ भने स्थानीय बासिन्दा र परिवारजन घटनाबाट स्तब्ध भएका छन् ।











