कपिलवस्तु — नेपाल हज समिति सदस्य एवम् प्रवक्ता मिर्जा रासिद बेग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आधिकारिक रूपमा प्रवेश गरेका छन्। कार्यबाहक सभापति डोल प्रसाद अर्याल , उपसभापति डा. सोणिम वाग्ले,महामन्त्री कबिन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य लगायतका नेता–कार्यकर्ताले उनलाई औपचारिक कार्यक्रममार्फत पार्टीमा स्वागत गरेका हुन्।पार्टी प्रेवेश कार्यक्रममा रास्वपाका नेताहरु , रास्वपा शिवराज सभापति बालकृष्ण पाण्डेलगायतको सहभागिता रहेको थियो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका स्थायी बासिन्दा मिर्जा बेग युवामाझ लोकप्रिय मात्र नभई सशक्त वक्ता र सक्रिय सामाजिक अभियन्ता पनि मानिन्छन्। उनी लामो समयदेखि धार्मिक, सामाजिक र मानवअधिकारका विभिन्न अभियानमा अग्रपंक्तिमा रहेर क्रियाशील रहँदै आएका छन्।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले जनता प्रगतिशील पार्टीको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर २(२) बाट उम्मेदवारी दिएका थिए। यद्यपि, सो निर्वाचनमा जित हासिल गर्न नसके पनि चुनावपश्चात् उनले मतदाताबीचको जनसम्पर्क र समस्या समाधानलाई प्राथमिकता दिँदै घर–घरमा पुगेर छलफल गर्दै आएका छन्।
उनको राजनीतिक यात्रा विद्यार्थी जीवनमै सुरु भएको हो। प्रारम्भिक चरणमा स्थानीय तहमा युवामुखी गतिविधिहरूमा संलग्न रहँदै उनले विभिन्न सामाजिक संस्था र धार्मिक समितिमा नेतृत्व ग्रहण गरे। नेपाल हज समितिको सदस्य तथा प्रवक्ता बनेपछि उनले मुस्लिम समुदायका हकहितका सवालमा खुलेर आवाज उठाए।
रास्वपामा प्रवेशसँगै मिर्जाले जनताको विश्वास जित्ने र परिवर्तनको राजनीति गर्ने आफ्नो संकल्प दोहोर्याएका छन्। "रास्वपाको वैचारिक स्पष्टता र जनमुखी दृष्टिकोणले मलाई आकर्षित गर्यो। अब म पार्टीको नीतिलाई जनतासम्म पुर्याउने अभियानमा जुट्नेछु," मिर्जाले भने।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, मिर्जाको प्रवेशले कपिलवस्तु क्षेत्र नम्बर २ मा रास्वपाको उपस्थितिलाई बलियो बनाउने अपेक्षा गरिएको छ।











