कपिलवस्तु,कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ भितरियास्थित ऐतिहासिक तथा धार्मिक स्थल सोनवागढमा पहिलोपटक बोलबम धाम सुरु भएको छ। सावन महिनाको पहिलो सोमबारबाट विधिवत रूपमा शुभारम्भ गरिएको यस बोलबम धामलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्जु थारुले यहि साउन ५ गतेबाट साउन महिनाभर बेलनदी र सुकबेलनदीको संगमस्थलबाट जल उठाई कलश शोभायात्रा सहित रुद्राभिषेक, चण्डीपाठ, हवन लगायतका विधिवत धार्मिक कार्यक्रम हुनेछन्। साथै, गुरु ख्यामप्रसाद खनालद्वारा धार्मिक कथा वाचन पनि गरिनेछ।
शुभारम्भ कार्यक्रममा बोल्दै वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले सोनवागढ बोलबम धामलाई शिवराजकै प्रमुख धार्मिक आस्थाको केन्द्र बनाउने गरी नगरपालिका विकासका कामलाई प्राथमिकता दिने बताए। “बोलबम धाम शिवराजकै गहना हो, यसको गरिमा र महिमा विश्वसामु चिनाउन हामी सबै लाग्नुपर्छ,” अध्यक्ष सापकोटाले भने।
मन्दिरका पूर्व अध्यक्ष राजु खरालले एक महिनासम्म चल्ने यो धाम कार्यक्रम कपिलवस्तु जिल्लाका लागि ऐतिहासिक भएको उल्लेख गर्दै धार्मिक तिर्थस्थलहरूको समुचित प्रचारप्रसार र संरक्षण गर्न आवश्यक रहेको बताए। यस वर्ष नजिकैका धार्मिक क्षेत्रहरूलाई समेत जोडेर बोलबम कार्यक्रम आयोजना गरिएकाले सम्पूर्ण भक्तजनलाई सहभागी हुन आग्रह गरेका छन्।
धाम व्यवस्थापनका लागि हर्जु थारुको अध्यक्षतामा १५१ सदस्यीय समिति गठन गरिएको छ। धामको संरक्षक समितिमा संविधानसभा सदस्य अभिषेक प्रताप शाह, प्रदेशसभा सदस्य अर्जुनकुमार केसी, नगर प्रमुख अजय थापा, उप–प्रमुख शिवकुमारी थारु, वडा अध्यक्ष टेकलाल सापकोटा, मन्दिरका पूर्व अध्यक्ष टिकाराम खराल र प्रेमलाल थारुलाई सल्लाहकारको रूपमा चयन गरिएको छ।










