कपिलवस्तु, असार १५ — पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल (बलदेव) ले कृषिलाई आत्मनिर्भर राष्ट्र निर्माणको मेरुदण्डको रूपमा व्याख्या गर्दै कृषिमा आधारित क्रान्तिबाट मात्र समृद्ध नेपाल सम्भव हुने बताउनु भयो।
असार १५ गते धान दिवसको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका–५, खैरीमा आयोजित विशेष कार्यक्रममा बोल्दै खनालले देशको आर्थिक समृद्धिको ढोका खोल्ने कुञ्जी कृषि रहेको बताउनु भयो । किसानलाई सम्मान भन्दा पनि बिउ, मलको आवश्यक रहेको बताउनु भयो । पूर्वमन्त्री खनालले कार्यक्रममा ऐतिहासिक तथ्य प्रस्तुत गर्दै कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधनको पालामा सम्पन्न धान महोत्सव समेटिएको प्राचीन चित्र हाल बर्माको एक संग्रहालयमा सुरक्षित रहेको बताउनु भयो ।
ऐतिहासिक स्थल तिलौराकोटमा करिब २७ सय वर्षअघि राजा शुद्धोधनले आयोजना गरेको धान महोत्सव चित्रण गरिएको ऐतिहासिक पेन्टिङ हाल बर्माको संग्रहालयमा सुरक्षित रहेको दाबी गरिएको छ।
पूर्वमन्त्री खनालका अनुसार उक्त चित्र करिब १३ सय वर्षअघि को समयमा बनाइएको भए पनि चित्रमा देखिएको दृश्य राजा शुद्धोधनको पालामा सम्पन्न ऐतिहासिक धान महोत्सवको हो। चित्रमा हात्ती, घोडा, बाजागाजा, जनसमुदायको लामो लस्करजस्ता दृश्य समेटिएको बताइएको छ। कार्यक्रममा बोल्दै खनालले कालानमक धानको इतिहाससमेत उल्लेख गर्नुभयो। उहाँका अनुसार यो विशेष धानको पहिलो उत्पादन नेपालमै, विशेषगरी कपिलवस्तुबाट सुरु भएको हो। “कृषिमा आधारित समाज निर्माणबिना देश समृद्ध बन्न सक्दैन,” उहाँले भन्नुभयो, “कृषि क्रान्ति नै आत्मनिर्भर नेपालको आधार हो।”
धान दिवसको अवसरमा स्थानीय किसान, कार्यकर्ता र नेताहरूले संयुक्त रूपमा धान रोप्दै उत्पादन वृद्धि र कृषि सशक्तीकरणको सन्देश दिएका थिए।
कार्यक्रम अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) जिल्ला समिति कपिलवस्तु, वाईसीएल कपिलवस्तु, र नेकपा (माओवादी केन्द्र) शिवराज नगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा प्रमुख अतिथि चक्रपाणी खनाल 'बलदेव' सहित केन्द्रीय, प्रदेश तथा जिल्लास्तरका नेताहरूको उल्लेखनीय उपस्थिति थियो।
केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रुद्रलाल बन्जाडे ‘विनोद’, लुम्बिनी प्रदेश समितिका सह–सचिव काशिराम यादव, पूर्व जिल्ला संयोजक बिष्णु बेल्बासे, प्रदेश सदस्यहरू टुकलाल पुन र राजेन्द्र आचार्य, नगर इञ्चार्जहरू नारायण भुसाल (बाणगंगा) र दोर्णबहादुर पुन ‘दिनेश’ (शिवराज) कार्यक्रमका प्रमुख सहभागी थिए।
त्यस्तै, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) कपिलवस्तुका अध्यक्ष रामवेलास यादव, वाईसीएलका केन्द्रीय सदस्य सहवाज खान तथा जिल्ला अध्यक्ष राकेश यादव, अनेम संघकी प्रदेश सदस्य रेवता पौडेल, मुस्लिम मुक्ती मोर्चाका प्रदेश सदस्य थकाली मियाँ, युवा नेताहरू रहिस शाह र केशर वली, नगर अध्यक्षहरू टेकेन्द्र क्षेत्री र चुरबहादुर खड्का ‘जीवन’, सहिद परिवार समाज कपिलवस्तुका अध्यक्ष प्रकाश पौडेल लगायत सयौं कार्यकर्ता तथा स्थानीयको उपस्थिति थियो।












