कपिलवस्तु, असार ०१
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको वार्षिक कार्यक्रम तथा बजेटप्रति नेपाली कांग्रेस कपिलवस्तु जिल्ला समितिले कडा आपत्ति जनाएको छ।
लुम्बिनी प्रदेशले असार १ गते प्रस्तुत बजेटमा कपिलवस्तु जिल्लाको समग्र विकास योजनाहरूलाई अत्यन्तै न्यून प्राथमिकता दिइएको भन्दै कांग्रेस कपिलवस्तुलेले आफ्नै पार्टीका मन्त्री लाई पार्टीको कार्यक्रममा निषेध गरेको छ ।
पार्टी जिल्ला सभापति अब्दुल कलामले विज्ञप्ति जाती गर्दै पहुँचवालाहरू र मन्त्रीहरूको व्यक्तिगत क्षेत्रका योजनाहरूलाई मात्रै प्राथमिकतामा राखेर संघीयताको मर्ममाथि कुठाराघात गरिएको उल्लेख गर्नु भएको छ।
जिल्ला समितिले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले पार्टी निर्णयको समेत बेवास्ता गरी आफ्नै स्वार्थमा बजेट वितरण गरेको छ। यस प्रकारको मनपरी कार्यशैलीलाई नेपाली कांग्रेसले कुनै हालतमा स्वीकार नगर्ने उल्लेख छ ।
कांग्रेसले यस्ता अपारदर्शी र भेदभावपूर्ण बजेटप्रति विरोध जनाउँदै लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्नै मन्त्रीहरूलाई समेत कडा कारवाही गर्ने चेतावनी दिएको छ।
विज्ञप्तिमा अबदेखि कपिलवस्तु जिल्लाभित्र हुने कुनै पनि सार्वजनिक वा पार्टीका कार्यक्रममा प्रदेश सरकारका ती मन्त्रीहरूलाई सहभागी हुन नदिइने उल्लेख गरिएको छ ।
यस घटनाले प्रदेश सरकारभित्रै सत्तारूढ दलभित्रको आन्तरिक असन्तोषलाई समेत सतहमा ल्याएको छ। कपिलवस्तु जिल्लाका जनप्रतिनिधिहरू र स्थानीयवासीले पनि बजेटको अन्यायपूर्ण बाँडफाँटविरुद्ध आवाज उठाइरहेका छन्।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई बजेट पुनरावलोकन गर्न र जिल्लाको हकहित सुनिश्चित गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ।












