विजयनगर, असार ८ । नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत शैक्षिक गुणस्तर सुदृढीकरण तथा कार्यसम्पादन आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत दुधाधारी माध्यमिक विद्यालय, गुगौलीले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न गरेको छ।
तालिम असार ७ र ८ गते विजयनगर गाउँपालिकाको सभाहलमा “उत्कृष्ट शिक्षण–सिकाइमार्फत गुणस्तरीय शिक्षा” भन्ने नाराका साथ सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि शोभाराम रिजालले शिक्षकहरू नै शिक्षा प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै यस्ता तालिमहरूले गुणस्तरीय शिक्षामा सकारात्मक प्रभाव पार्ने बताए। शिक्षकहरूको ज्ञान, सीप र सोचाइमा व्यापक परिवर्तन ल्याउन यस्ता तालिमहरू उपयोगी हुने उनले बताए।
शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले बालमैत्री तथा विद्यार्थी केन्द्रित सिकाइ आजको आवश्यकता भएको बताए। उनले भने, शिक्षकहरूले अब प्रविधिको प्रयोगसहित व्यवहारिक शिक्षण विधि अपनाउनुपर्ने उनले बताए।
कार्यक्रम अध्यक्ष राम प्रकट कोरीले विद्यालयको शैक्षिक गुणस्तर सुधारको यात्रामा शिक्षकहरूको भूमिकालाई अझ सशक्त बनाउन तालिम प्रभावकारी भएको बताए। उनले भने, शिक्षकको आत्मविश्वास, दक्षता र रुचिमा वृद्धि ल्याउन तालिम सहायक भएको छ। यस्ता कार्यक्रमहरू निरन्तर गर्न जरुरी रहेको उनले बताए।
तालिममा प्रशिक्षक मुकुन्द दाहालले बालमैत्री शिक्षा, कक्षा व्यवस्थापन, विद्यार्थी केन्द्रित शिक्षण, नवीन शैक्षिक प्रविधिको प्रयोग तथा पेशागत दक्षता अभिवृद्धिसम्बन्धी विषयमा सहजीकरण गरेका थिए।
तालिममा दुधाधारी माविका सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले तालिम उपयोगी, व्यवहारिक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्।











