कपिलवस्तु — रोट्याक्ट क्लब अफ कपिलवस्तुले नयाँ कार्यकाल २०२५–२०२६ का लागि प्रकाश चौधरीलाई अध्यक्षमा चयन गरेको छ। करिब एक दशकदेखि चन्द्रौटालाई आफ्नो मुख्य बसोबासको थलो बनाएका चौधरी आज सफल युवा व्यवसायीका रुपमा चिनिन्छन्।
कपिलवस्तुको बाणगंगाबाट व्यवसायिक यात्रा सुरु गरी शिवराजमा ‘सिद्धार्थ डिजाइन फ्लेक्स प्रिन्ट’ सञ्चालन गर्दै आएका चौधरीले छोटो समयमा नै आफ्ना ग्राहक र समुदायमा छुट्टै पहिचान बनाउन सफल भएका छन्। उनी हाल ‘व्यापार संघ कपिलवस्तु’का जिल्ला सदस्यसमेत हुन्।
थारु समुदायमा लोकप्रिय चौधरी सामाजिक नेतृत्वमा पनि सक्रिय छन्। उनी शिवराज नगर थारु कल्याणकारी सभाका अध्यक्ष हुन् भने थारु समुदायको गौरव ‘उमरिमा थारु संग्रहालय संरक्षण समिति’का समेत अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। थारु समुदायको मौलिक पहिचान झल्काउने उक्त संग्रहालयलाई आन्तरिक पर्यटकको रोजाइमा पर्नेसम्मको बनाउन उनले महत्वपूर्ण योगदान पुर्याएका छन्।
समुदायसँग सशक्त सम्पर्क र समन्वय क्षमताका धनी चौधरीले आफ्नो व्यवसायिक तथा सामाजिक भूमिकालाई सन्तुलित बनाउँदै नयाँ पुस्तामा प्रेरणा दिन सफल भएका छन्।
रोट्याक्ट क्लब अफ कपिलवस्तुको अध्यक्षमा उनी चयन भएसँगै आगामी दिनमा क्लबले थप प्रभावकारी र सिर्जनात्मक कार्यक्रम अघि बढाउने नव निर्वाचन अध्यक्ष चौधरीले बताए ।
कपिलवस्तुको उमरिमा भएको रोटरी क्लब अफ कपिलवस्तु र रोट्याक्ट क्लब अफ कपिलवस्तुको संयुक्त पद हस्तान्तरण समारोहका बिच रोटरी क्लब अफ कपिलवस्तुको २०२४–२०२५ कार्यकालका अध्यक्ष बालकृष्ण पाण्डेले नयाँ कार्यकाल २०२५–२०२६ का लागि युवराज पौडेललाई पद हस्तान्तरण गरेका छन्। सोही अवसरमा रोट्याक्ट क्लब अफ कपिलवस्तुको अध्यक्ष २०२४–२०२५ का बिष्णु पाण्डेले आगामी कार्यकाल २०२५–२०२६ का लागि प्रकाश चौधरीलाई पद हस्तान्तरण गरेका छन्।










