कपिलवस्तु,रोटरी क्लब अफ कपिलवस्तुले पालिका स्तरमा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ। जिल्लाको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका र विजयनगर गाउँपालिकाका माध्यमिक विद्यालयबीच अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।
प्रतियोगिता २१ गतेबाट छनोट प्रक्रिया सुरु गरेर ३० गते क्लबको ईस्टलेसन कार्यक्रममा पालिका स्तरबाट प्रतियोगितामा सहभागी भइ प्रथम र द्वितीय स्थान हासिल गरेका दुई-दुई टिम गरी ८ वटा टिमबीच अन्तिम प्रतिस्पर्धा गराइने क्लब अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभयो।
कार्यक्रमअनुसार २१ गते महाराजगञ्ज नगरपालिका, २२ गते विजयनगर गाउँपालिका, २३ गते शिवराज नगरपालिका र २५ गते कृष्णनगर नगरपालिकामा प्रतियोगिता सञ्चालन हुने पनि अध्यक्ष पाण्डेले जानकारी दिनुभयो।
रोटरी शिल्ड प्रतियोगिताका रूपमा कार्यक्रम अघि बढाइएको र यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनले बताए।
पूर्व अध्यक्ष हेमराज शर्माले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र सम्बन्धित पालिकाले स्थान तोकिसकेकोले त्यही क्षेत्रका विद्यालयहरूको सहभागिता रहने बताए।
यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको चासो बढाउने, तर्कशक्ति, स्मरणशक्ति र प्रस्तुतीकरण क्षमतामा उल्लेखनीय वृद्धि गराउने बताउनु भयो । आगामी दिनमा यसलाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजाने शर्माले बताउनु भयो ।
पूर्व अध्यक्ष एवम कार्यक्रमका संयोजक तोयानाथ गैरेले रोटरी क्लबले शिक्षा क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान गर्दै आएको बताउंदै हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमलाई केवल प्रतिस्पर्धा मात्र नभई विद्यार्थीको बौद्धिक विकास, आत्मविश्वास अभिवृद्धि र नेतृत्व विकासको माध्यमका रूपमा अघि सारेको बताउनु भयो ।










