कार्तिक १९ । आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तुबाट १० खेलाडी छनोट भएका छन् । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजना गरिएको जिल्लास्तरीय छनोट प्रतियोगिताबाट पुरुषतर्फ ५ र महिलातर्फ ५ खेलाडी छनोट भएका हुन् ।
कात्तिक १६ र १७ गते सञ्चालन भएको छनोट प्रतियोगितामा जिल्लाका ६ स्थानीय तहबाट ४४ पुरुष र ७ महिला गरी ५१ खेलाडी सहभागी भएका थिए । छनोट हुने पुरुष खेलाडीमा सुविन श्रेष्ठ, अभय महरा, महेश गुप्ता, आशुतोष कशौधन, शिवम कशौधन रहेका छन् । यस्तै, महिलातर्फ बिलक्षणा सिंह, रबिना बिष्ट, एमी चौधरी, समृद्धि शाक्य, कृति शाक्य छनोट भएका छन् ।
छनोट भएका खेलाडीको विशेष प्रशिक्षणसमेत सुरु गरिएको जिल्ला ब्याडमिन्टन संघका प्रतियोगिता संयोजक राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित खेलाडीलाई प्रशिक्षण दिन थालिएको हो ।
छनोट कार्यक्रममा जिल्ला ब्याडमिन्टन संघका सचिव मीनप्रसाद पोखरेल, कोषाध्यक्ष रितेश थापा तथा अभिभावक बिनायक सिंहले खेलाडीलाई शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको प्राविधिक जिम्मेवारी मोहम्मद हुसेन, त्रिविक्रम जोशी र सिद्धार्थ कार्कीले सम्हाल्नुभएको थियो ।
भुपाल थापाबाट









