कार्तिक १९ । जिल्ला हुलाक कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १०७ वटा राहदानीसम्बन्धी सेवा प्रवाह गरेको छ । कार्यालयका अनुसार साउनदेखि असोज मसान्तसम्म जिल्ला हुलाक कार्यालय र अन्तर्गतका नौवटा पालिका हुलाकमार्फत १०७ वटा राहदानी दर्ता तथा वितरण गरिएको हो ।
हुलाक अधिकृत पवित्रा शाहीका अनुसार साउनमा ९, भदौमा १७ र असोजमा २९ वटा राहदानीसम्बन्धी काम गरिएको छ । त्यस्तै, पालिका हुलाकमार्फत ५२ वटा राहदानी व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
हुलाक ऐन, नियम तथा नेपाल सरकारको प्रचलित कानुनबमोजिम हुलाक अधिकृतको निर्णय प्रक्रियामार्फत राहदानीसम्बन्धी सेवा प्रवाह भइरहेको शाहीले बताउनुभयो ।
यसैबीच, कार्यालयले सोही अवधिमा १८ हजार ६६ वटा हुलाक वस्तु दर्ता तथा वितरण गरेको छ । जिल्ला हुलाक कार्यालयको प्रथम त्रैमासिक प्रगति विवरणअनुसार कार्यालय र अन्तर्गतका नौवटा पालिका हुलाकमार्फत उक्त सङ्ख्यामा हुलाक वस्तु दर्ता तथा वितरण भएका हुन् ।
तीन महिनामा जिल्ला हुलाक कार्यालयबाट ६ हजार ९ सय ८१ र पालिका हुलाकमार्फत ११ हजार ८५ वटा हुलाक वस्तु दर्ता भएका छन् । साउनमा २ हजार ८ सय ७७, भदौमा २ हजार १ सय ४ र असोजमा २ हजार वटा हुलाक वस्तु दर्ता भएका थिए ।
सेवाग्राहीको सहजताका लागि जिल्ला हुलाक कार्यालयले निवेदन तथा फारम हेल्प डेस्कमार्फत निःशुल्क लेख्ने र भर्ने व्यवस्था पनि गरेको सूचना अधिकारी शिवलाल बन्जाडेले जानकारी दिनुभयो ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा टिकट काउन्टर तथा राहदानी दर्तासम्बन्धी सेवा उपलब्ध रहेको कार्यालय प्रमुख शाहीले बताउनुभयो ।
भुपाल थापाबाट









