कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुले विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मुसलमानलाई पार्टीबाट कारबाही गर्दै जनप्रतिनिधिको जिम्मेवारीबाट समेत मुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ। दुबै जनप्रतिनिधिले रास्वपाको पार्टी सदस्यता लिएको जानकारी पाएसंगै तौलिहवामा सम्पन्न एमाले कपिलवस्तु जिल्ला सचिवालयको १३औँ बैठकले दुवै जनप्रतिनिधिमाथि कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिनुभयो।
बैठकले पार्टीको निर्णय तथा अनुशासनको विषयलाई प्राथमिकतामा राख्दै लक्ष्मी चौधरी र अनवर मुसलमानमाथि कारबाही प्रक्रिया अघि बढाउन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो। उनीहरूमाथि पार्टीबाट कारबाहीसँगै निर्वाचित जनप्रतिनिधिको जिम्मेवारीबाट समेत मुक्त गर्न सिफारिस गर्ने निर्णय भएको अध्यक्ष खनालले बताउनुभयो।
बैठकमा पार्टी जागरण अभियानको समीक्षा, भोटेकोशी बाढीपीडितलाई सहयोग, पार्टी सदस्यता नवीकरण तथा आगामी असोज ३ गते संविधान दिवस मनाउने लगायतका विषयमा समेत छलफल तथा निर्णय भएको एमाले कपिलवस्तुले जनाएको छ।
बैठकमा एमाले केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने, पूर्व पोलिटब्युरो सदस्य बिमला घिमिरे, केन्द्रीय निर्वाचन आयोगका सदस्य झविलाल पोखरेल तथा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य डम्बर शर्मालगायतले मन्तव्य राख्नुभएको थियो।
जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता, उपाध्यक्ष शंकर पाण्डेको स्वागत तथा जिल्ला सचिव सिवी गहतराजको सञ्चालनमा बैठक सम्पन्न भएको थियो। बैठकमा प्रदेश कमिटी सदस्यहरू खुमप्रसाद आचार्य, बाबुराम आचार्य र गोपाल थापालगायतको सहभागिता रहेको थियो।










