कपिलवस्तु -थारू समुदायको मुख्य पर्व माघी महोत्सवको तयारी सुरु भएको छ। थारू कल्याणकारी सभा शिवराज नगर समितिको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने पाँचौँ माघी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको
आज शिवराज–१ उमरिमा आयोजित पत्रकार सम्मेलनमार्फत थारू कल्याणकारी सभा शिवराजका अध्यक्ष प्रकाश चौधरीले जानकारी दिनु भयो
यही माघ १ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त थारू कलाकारहरूको प्रस्तुति रहनेछ।
साथै महोत्सवमा आकर्षकको रुपमा थारू समुदायको मौलिक संस्कृतिलाई झल्काउने सांस्कृतिक झाँकी, झुमरा नाच, झर्रा नाच, सजनी–विरहनी, लाठी नाच, मयूर नाच लगायतका विविध नृत्यहरू मुख्य आकर्षणको रूपमा रहने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोबीले माघी महोत्सवले थारू समुदायको पहिचान, भाषा र संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। उहाँले यस्ता महोत्सवहरूले नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति आकर्षित गर्न सहयोग पुग्ने उल्लेख गर्दै सबै समुदायको सहभागिताले महोत्सव अझै सफल हुने विश्वास व्यक्त गर्नुभयो।
महोत्सवले सांस्कृतिक आदान–प्रदान, सामाजिक सद्भाव र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास रहेको छ।











