कपिलवस्तुमा ६३औँ विश्व सेतो छडी दिवसका अवसरमा १० जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरिएको छ । लुम्बिनी अपाङ्गता विकास केन्द्र तौलिहवाको आयोजना तथा कपिलवस्तु नगरपालिकाको सहयोगमा बिहीबार नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई सेतो छडी वितरण गरिएको हो ।
सेतो छडी प्राप्त गर्नेमा उर्मिला धोबी, अजय गिरी, सुनिल कोरी, हरिप्रसाद रैदास, अर्जुन कान्दु, सत्रुघन पासी, शिवानन्द बर्मा, बासुदेव पौडेल, नन्दकिशोर यादव र अमला पन्थी रहेका छन् । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र आत्मनिर्भरता प्रवद्र्धनमा स्थानीय सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचान गरी उनीहरूलाई सरकारी सेवामा समान पहुँच सुनिश्चित गर्न नगरपालिका कार्यालयले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ । यस्तै, वरिष्ठ प्रशासकीय अधिकृत पदमराज श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ । गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकारी निकाय, गैरसरकारी संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उनीहरूलाई अवसरबाट वञ्चित गर्ने सोच र व्यवहार अन्त्य गर्दै निर्णय प्रक्रियामा समेत सहभागी गराउनुपर्नेमा उहाले जोड दिनुभयो । लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दृष्टिबिहिन भएका ब्यक्तिहरु, उहाँहरुका परिवार, अन्य अपांगता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
संस्थाका सचिव शिवानन्द बर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष सुचिता श्रीवास्तवले गर्नुभएको थियो । ‘दृष्टि हुनु भनेको दूरदृष्टि हुनु होइन’ भन्ने नाराका साथ मनाइएको विश्व सेतो छडी दिवसले दृष्टिविहीन व्यक्तिको सुरक्षित आवागमन, स्वतन्त्रता, पहुँच र समान अधिकारबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ ।









