कपिलवस्तु — यौनजन्य क्रियाकलापका लागि प्रयोग गरिने करिब २३ लाख रुपैयाँ बराबरका कृत्रिम सामग्री (सेक्स टोयज) बरामद गरिएको छ ।
कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्कनजिकबाट बिहीबार २२ लाख ९३ हजार १०० रुपैयाँ मूल्य बराबरका विभिन्न यौन खेलौना तथा चार्जर बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको पाँच सदस्यीय टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
प्रहरीले महिलाका लागि प्रयोग हुने सात लाख १२ हजार रुपैयाँ मूल्यका ३६५ थान भाइब्रेटर बरामद गरेको छ । त्यस्तै, पुरुषका लागि प्रयोग हुने एक लाख ४४ हजार रुपैयाँ बराबरका ९९ थान सेक्स टोयज बरामद गरिएको छ । त्यसैगरी महिलाका लागि प्रयोग हुने १२ लाख २८ हजार रुपैयाँ मूल्यका ३२९ थान सेक्स टोयजसमेत बरामद गरिएको छ । सेक्स टोयमा प्रयोग हुने दुई लाख आठ हजार ६०० रुपैयाँ मूल्यका एक हजार ४७६ थान चार्जर पनि प्रहरीले बरामद गरेको छ ।
बरामद सामान कसले र कहाँबाट ल्याएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ । सामान कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको छ । प्रक्रिया पूरा गरेपछि बरामद सामान कृष्णनगर भन्सार कार्यालयमा बुझाउने बताइएको छ ।









