कपिलवस्तु । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसीले वनजंगल र पानीका मुहान संरक्षणमा समयमै ध्यान नदिए भविष्यमा देशले गम्भीर वातावरणीय संकट सामना गर्नुपर्ने बताएका छन्।
शुक्रबार कपिलवस्तुको शिवराज नगरपालिका–३ मा आयोजित कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभालाई सम्बोधन गर्दै केसीले वन विनाशका कारण पानीका स्रोत सुक्दै गएको भन्दै चिन्ता व्यक्त गरे।
उनले वन संरक्षणलाई केवल रुखबिरुवा जोगाउने विषयका रूपमा नभई मानव जीवन र भविष्यसँग जोडेर हेर्नुपर्ने बताए। नदीका मुहान, तालतलैया तथा जलाधार क्षेत्रको संरक्षण नगरे देश मरुभूमिमा परिणत हुन सक्ने उनको भनाइ थियो।
वन, पानी र वातावरणबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै केसीले प्राकृतिक स्रोतको संरक्षण र सदुपयोगमा सरकारसँगै स्थानीय समुदायको पनि उत्तिकै जिम्मेवारी रहने बताए।
कार्यक्रममा डिभिजन वन कार्यालय गौतमबुद्ध, चन्द्रौटाका डिभिजनल वन अधिकृत गणेशबहादुर खड्काले वनलाई काठ र दाउरा प्राप्त गर्ने माध्यममा मात्र सीमित राख्न नहुने बताए। उनले वनले वातावरणीय सन्तुलन कायम राख्नुका साथै वन्यजन्तु, जैविक विविधता र मानव जीवनको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
वनको दीर्घकालीन संरक्षणका लागि उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।
साधारणसभामा कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष गंगेशनाथ तिवारीले आगामी आर्थिक वर्षका लागि ७ करोड १५ लाख रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका थिए।
अध्यक्ष तिवारीले वन संरक्षणसँगै उपभोक्ताको आवश्यकता पूरा गर्ने र स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने गरी समूहले काम गरिरहेको बताए।
उनले उपभोक्तालाई सहुलियत दरमा काठदाउरा उपलब्ध गराउँदै आएको जानकारी दिँदै आगामी दिनमा वनमा आधारित आयआर्जनका कार्यक्रमलाई समेत प्राथमिकता दिने बताए।
समूहको प्रतिवेदनअनुसार कपिलवस्तुका शिवराज, बुद्धभूमि, कृष्णनगर, महाराजगञ्ज तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका विभिन्न २२ वटा वडाका १ लाख २२ हजार ३९३ उपभोक्ता साझेदारी वनसँग आबद्ध छन्।
वनबाट प्राप्त स्रोतसाधनको उचित व्यवस्थापन गर्दै त्यसको लाभ उपभोक्तासम्म पुर्याउने र वन संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउने समूहको योजना रहेको अध्यक्ष तिवारीले बताए।
साधारणसभाका अवसरमा वरिष्ठ वन अधिकृत पहलमान सेर्मुजा मगरलाई सम्मानपत्र प्रदान गर्दै बिदाइसमेत गरिएको थियो।
कार्यक्रममा तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश पाण्डे, गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जोवद आलम खान र शिवराज नगरपालिका–३ का वडाध्यक्ष टेकलाल सापकोटालगायतले वन संरक्षण, व्यवस्थापन र उपभोक्ताको हितका विषयमा आ–आफ्ना धारणा राखेका थिए।









