कपिलवस्तु नगरपालिकाले पछिल्ला चार आर्थिक वर्षमा ३१ दशमलव ३९१ किलोमिटर सडक कालोपत्रे गरेको छ । नगरपालिकाले सडक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्म उक्त सडक कालोपत्रे गरेको हो ।
नगरपालिकाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा ८ दशमलव ८७७ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ९ दशमलव २२७ किलोमिटर र २०८१/८२ मा ९ दशमलव २८७ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । आर्थिक वर्ष २०८२/८३ मा भने ४ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
यस वर्षका लागि ४ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य निर्धारण गरिएकोमा लक्ष्यअनुसार नै काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । सडक, सिँचाइ तथा अन्य पूर्वाधार विकास उपशाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर राजेश कुमार शैनीले सडक कालोपत्रेको काम बजेटको उपलब्धता, योजनाको प्राथमिकता र कार्यान्वयनको अवस्थाअनुसार अघि बढ्ने बताउनुभयो ।
नगरप्रमुख सुदीप पौडेलले सडक पूर्वाधार विकासले नागरिकको आवागमन सहज बनाउनुका साथै बस्तीहरूलाई सडक सञ्जालसँग जोड्न सहयोग पुग्ने बताउनुभयो । गत वर्ष जेन्जी आन्दोलन र इन्धन आपूर्तिमा देखिएको असहजताले पूर्वाधार निर्माणमा केही असर पारेको उहाँको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले आवश्यकताका आधारमा सडक योजना छनोट गरी उपलब्ध बजेटअनुसार काम अघि बढाइएको बताउनुभयो । आर्थिक वर्ष २०८२/८३ मा निर्धारित ४ किलोमिटर सडक कालोपत्रेको काम शतप्रतिशत सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले सडक पूर्वाधार विकासमार्फत नागरिकको दैनिक आवागमन सहज बनाउने र बस्तीहरूमा सडक पहुँच विस्तार गर्ने लक्ष्यका साथ काम अघि बढाएको जनाएको छ ।
भुपाल थापाबाट









