कपिलवस्तु - कपिलवस्तुको चन्द्रौटामा पुस १३ गतेदेखि सञ्चालन हुँदै आएको १०औँ चन्द्रौटा महोत्सवको आज भव्य समापन गरिँदैछ। समापन समारोहलाई विशेष र आकर्षक बनाउन सम्पूर्ण तयारी पूरा भएको महोत्सव संयोजक ईस्वरी प्रसाद पाण्डेले जानकारी दिनु भयो। आज पुस २८ गते साँझ ५ बजेसम्म औपचारिक कार्यक्रम सम्पन्न गरि औपचारिक कार्यक्रमपछि सधैंझैँ आज पनि राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने बताउनु भयो।
समापन समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत गरिने बताउनु भयो ।
आजको समापन कार्यक्रममा सांस्कृतिक प्रस्तुति अन्तर्गत र्यापर जिबबको लाइभ सो, गायक दिपु मगर तथा गायिका बसन्ता खनालको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक नारायण भाटले जानकारी दिनुभएको छ।
यसैगरी, महोत्सवको अर्को प्रमुख आकर्षणका रूपमा रहेको १०औँ चन्द्रौटा डान्स आइडलको नतिजा पनि आजै सार्वजनिक गरिने आइडल संयोजक कपिल खनालले जानकारी दिनु भयो । राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति र विविध कार्यक्रमसहित १०औँ चन्द्रौटा महोत्सवको आज भव्य समापन गरिने आयोजकले जनाएको छ।











