तौलिहवा ,असोज ३ गते ।
कपिलवस्तुमा ‘नेपालको वर्तमान संविधानमा बालबालिकाको हक र अधिकार’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहल तौलिहवामा सम्पन्न प्रतियोगितामा सहभागी विद्यार्थीहरूले संविधानले बालबालिकाका लागि सुनिश्चित गरेका मौलिक हक, शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र बालमैत्री वातावरण निर्माणका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितीका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराम आचार्यले बालबालिकाको अधिकार संरक्षणका लागि संविधानमा भएका व्यवस्थाबारे बालबालिकालाई नै जानकारी गराउनुपर्नेमा जोड दिनुभएको थियो । बालबालिकाको अधिकार सुनिश्चित गर्न परिवार, विद्यालय, स्थानीय तह तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले बालबालिकामा आफ्ना अधिकारसँगै कर्तव्य र सामाजिक जिम्मेवारीबारे समेत सचेतना बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बालबालिकाको सुरक्षित र मर्यादित वातावरण निर्माणमा राज्यका सबै तहसँगै अभिभावक र समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार तथा विभेद अन्त्य गर्न सबै पक्ष सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । प्रहरी उपरीक्षक मनोहर भट्टले बालबालिकाको सुरक्षा र संरक्षणका लागि प्रहरीसँगै अभिभावक, विद्यालय र समुदायको सहकार्य आवश्यक रहेको बताउनुभएको थियो । बालबालिकालाई हिंसा, दुव्र्यवहार तथा विभिन्न जोखिमबाट जोगाउन समयमै सचेतना र संरक्षणका उपाय अपनाउनुपर्ने उहाँको भनाइ थियो । प्रतियोगिताको निर्णायक मण्डलमा अधिवक्ता भोला प्रसाद विश्वकर्मा र शिक्षिका इन्दिरा देवकोटा रहनुभएको थियो । सहभागी विद्यार्थीले विषयवस्तुको ज्ञान, प्रस्तुति, भाषाशैली तथा विषयप्रतिको बुझाइका आधारमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । बालबालिकाको हक अधिकार संविधानमा मात्रै सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्ने विषयलाई विद्यार्थीको प्रस्तुतिले समेत उजागर गरेको आयोजकले जनाएको छ । कार्यक्रमको संयोजन शिवा गुप्ता र रामशब्द यादवले गर्नुभएको थियो । कार्यक्रम नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत पदमराज श्रेष्ठको अध्यक्षता, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, प्रशासकीय अधिकृत विनोद कुँवर र पत्रकार भुपाल थापा लगायतको उपस्थिति थियो ।
यस्तै प्रतियोगितामा कपिलवस्तु नगरपालिका भित्रका बालक्लबहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा तौलेश्वरनाथ बाल समुह सञ्जालका सोयुग कशौधन प्रथम, धरमपनिया बाल सञ्जाल समूहका शिवानी उपाध्याय द्धितीय, सिद्धार्थ वडा बाल सञ्जाल समूहका प्रमिश आचार्य तृतीय, अरौराकोट बाल सञ्जाल समूहका रामहर्ष कुर्मीले सान्त्वना स्थान हासिल गर्नुभएको छ । उहाँहरुले झोला, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।









