कपिलवस्तु ।कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी कमाण्डरको जिम्मेवारी रास्वपा शिवराज नगर समितिका सभापति बालकृष्ण पाण्डेयलाई दिएको छ।
उक्त निर्वाचन क्षेत्रमा रास्वपाले कृष्णनगर नगरपालिकाका प्रकाश रजौरियालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको छ।
रास्वपाले देशभर मतदाताको धारणा बुझ्न विशेष सर्वेक्षण टोली परिचालन गरेको छ। पार्टीबाट समानुपातिक उम्मेदवार रहेका मिर्जा रासिद बेगका अनुसार विजयनगर र शिवराज नगरपालिकामा सर्वेक्षण सम्पन्न भइसकेको छ, जसबाट रास्वपाप्रति सकारात्मक जनधारणा देखिएको छ। कृष्णनगर नगरपालिकामा भने रास्वपा केन्द्रीय टोलीद्वारा सर्वेक्षण प्रक्रिया जारी रहेको उनले जानकारी दिए।

चुनावी कमाण्डर बालकृष्ण पाण्डेयले संगठनलाई आन्तरिक रूपमा थप मजबुत बनाउँदै युवा, महिला तथा स्वतन्त्र सोच भएका नागरिकलाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन भइरहेको बताए।
रास्वपाबाट उम्मेदवार बनेका प्रकाश रजौरिया सुरुमा नयाँ अनुहारका रूपमा हेरिए पनि हाल उनको शालीन, विनम्र र स्पष्ट अभिव्यक्तिका कारण मतदाताबीच विश्वास बढ्दै गएको देखिएको छ।











