कपिलवस्तु, १४ माघ-नेपाली काँग्रेस कपिलवस्तु जिल्ला कार्य समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला सचिव शक्ति सिंह ठकुरीको नेतृत्वमा ३५ सदस्यीय जिल्ला निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति गठन गरेको छ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित तीनवटै क्षेत्रलाई समेटेर मूल समिति गठन गरिएको नेपाली काँग्रेस कपिलवस्तुले जनाएको छ।
त्यसैगरी, जिल्ला सभापति अब्दुल कलाम खाँको नेतृत्वमा जिल्ला निर्वाचन अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ। अनुगमन समितिका सदस्यहरूमा प्रेमबहादुर रायमाझी, रवि काफ्ले, मोहम्मद वजिह अरसद र माया ज्ञवाली रहेका छन्।
यसै क्रममा उपसभापति हुमकान्त खनालको संयोजकत्वमा जिल्ला निर्वाचन समन्वय समिति गठन गरिएको छ। समितिमा रजतराज आचार्य, टेकबहादुर शाही, विनोद नेपाल र रिना नेपाल सदस्य रहेका छन्।
त्यस्तै, महाधिवेशन प्रतिनिधि प्रकाश घिमिरेको संयोजकत्वमा जिल्ला निर्वाचन भातृसंस्था परिचालन समिति गठन गरिएको छ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका अध्यक्ष खगप्रसाद चापागाईंको नेतृत्वमा गठित सञ्चार डेस्कले सञ्चार क्षेत्रसँग सहकार्य गर्ने जनाइएको छ।











