१०औँ चन्द्रौटा महोत्सवअन्तर्गत आयोजना गरिएको चन्द्रौटा डान्स आइडल प्रतियोगितामा आदर्श भण्डारी प्रथम हुँदै डान्स आइडल बन्न सफल भएका छन् । प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा खुसिमाया रोका द्धितीय र वर्षा अधिकारी तृतिय स्थान हासिल गर्न सफल भएका हुन् ।
महोत्सव अवधिभर सञ्चालन गरिएको डान्स आइडल प्रतियोगितामा स्थानीय तथा आसपासका क्षेत्रका दर्जनौँ प्रतिभावान् युवायुवतीहरूको सहभागिता रहेको थियो । प्रारम्भिक छनोट चरणदेखि अन्तिम प्रतिस्पर्धासम्म सहभागीहरूले विभिन्न शैलीका नृत्य प्रस्तुत गरी दर्शक र निर्णायकलाई मन्त्रमुग्ध पारेका थिए ।
विजेता, उपविजेता तथा तृतिय हुने प्रतिस्पर्धीहरूलाई मेला संयोजक इश्वरी पाण्डेले सम्मानपत्र तथा पुरस्कार प्रदान गर्दै उनीहरूको उत्साह बढाउनुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै संयोजक पाण्डेले चन्द्रौटा महोत्सवले मनोरञ्जनसँगै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगितामार्फत लुकेर रहेका प्रतिभा बाहिर ल्याउन सहयोग पुगेको उल्लेख गर्नुभयो ।
स्थानीयवासी, दर्शक तथा सहभागीहरूले डान्स आइडल प्रतियोगिताले युवाहरूलाई सकारात्मक ऊर्जा र सिर्जनात्मकताको प्लेटफर्म दिएको प्रतिक्रिया दिएका छन् । आयोजक समितिका अनुसार आगामी संस्करणहरूमा पनि स्थानीय प्रतिभालाई प्राथमिकता दिँदै यस्ता सिर्जनात्मक कार्यक्रमलाई थप व्यवस्थित र आकर्षक बनाइनेछ ।
१०औँ चन्द्रौटा महोत्सवअन्तर्गत आयोजित विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले महोत्सवलाई थप रौनक प्रदान गरेको छ भने डान्स आइडल प्रतियोगिता महोत्सवको मुख्य आकर्षणका रूपमा स्थापित भएको आयोजकको भनाइ छ ।











