कपिलवस्तु -चन्द्रौटा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पौष १३ गतेदेखि २८ गतेसम्म दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला–२०८२ आयोजना हुने भएको छ।
“कृषि, उद्योग, व्यापार र पर्यटनलाई प्रोत्साहन, आन्तरिक उत्पादन र स्वरोजगार हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस वर्षको मेलालाई विशेष र भव्य बनाउने गरी तयारी भइरहेको सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभएको छ।
स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योग, साथै क्षेत्रका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो। महोत्सवलाई सफल बनाउन उहाँले स्थानीय सरकार, संघ–संस्था, व्यवसायी तथा आम नागरिक सबैलाई सहकार्य गर्न आग्रह गर्नुभएको छ।
मेलामा दर्शक तथा आगन्तुकको आकर्षणका लागि लन्डन ब्रिज, जलपरी, आइफेल टावर, पिङसहित विभिन्न बाल उद्यानका सामग्रीहरू राखिने जनाइएको छ। साथै कृषि, उद्योग र व्यापारसँग सम्बन्धित स्टलहरू, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत समावेश गरिने तयारी गरिएको छ।
आयोजकका अनुसार यस महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगारको प्रवर्द्धन र क्षेत्रको समग्र आर्थिक गतिविधिमा टेवा पुर्याउने विश्वास लिइएको छ।











