कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिजयनगरमा जनता सवाद तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमाले कपिलवस्तुका जिल्ला सदस्य लोकेस थापा सहित ५८ जना रास्वपामा प्रवेश गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश उपसभापति सालिग्राम घिमिरेले रास्वपा नै अहिलेको विकल्प भएको बताएका छन् । उनले सभापति रवि लामिछानेविरुद्ध षड्यन्त्रपूर्वक फसाउने प्रयास भइरहेको दाबी गर्दै जनताको साथ रास्वपालाई अझ बलियो बनाइरहेको बताए ।
त्यसैगरी, नेता आनन्द यादवले देशलाई उन्नति, सुशासन र विकासतर्फ लैजान रास्वपा बाहेक अर्को विकल्प नभएको जिकिर गरे । उनका अनुसार, पुराना दलहरूले दिएको निराशाबाट जनता अहिले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएका छन् ।
पार्टी प्रवेश गर्दै लोकेस थापाले लामो समय एमालेमा रही काम गरे पनि जनताको भावना अनुसार पार्टीले काम गर्न नसकेको बताए । अब रास्वपाबाट जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गर्दै उनले परिवर्तनमा सक्रिय भूमिका निभाउने घोषणा गरे ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।









