कपिलवस्तु -कपिलवस्तुको विजयनगर गाउँपालिकाले ‘सहारा र आत्मनिर्भरता’को नारालाई व्यवहारमा उतार्दै अपाङ्गता भएका नागरिक र महिलालाई लक्षित विशेष सहयोग कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न कार्यक्रममा ५७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र ३१ जना महिलालाई स्वरोजगारका लागि सिलाई मेसिन वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
अपाङ्गता भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई समाजसँग जोड्न र दैनिक जीवन सहज बनाउन यस्ता कार्यक्रमलाई प्राथमिकता दिने बिजय नगर गाउंपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो ।आगामी दिनमा अझ धेरै नागरिक लक्षित सहयोग कार्यक्रम ल्याउने बताउनु भयो ।

गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम र घरेलु उद्योगको प्रोत्साहनलाई निरन्तरता दिइरहेको उपाध्यक्ष लक्ष्मि चौधरीले बताउनु भयो।
कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर, तीनपाङ्ग्रे साइकल, सेतो छडी, चस्मा र इयरफोन जस्ता सामग्री उपलब्ध गराइएको छ। यस्ता सामग्रीले दैनिक जीवन सहज बनाउन र उनीहरूलाई थप आत्मबल प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यसैगरी महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आर्थिक रूपमा सबल बनाउने उद्देश्यले ३१ जना महिलालाई सिलाई मेसिन वितरण गरिएको छ। गाउँपालिकाले घरेलु उद्योग र सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै महिलालाई आत्मनिर्भर बनाउन दीर्घकालीन योजना अघि सारेको छ।











