कपिलवस्तु - कपिलवस्तु नगरपालिका–८, दोहनीस्थित वडा कार्यालय अगाडि नवनिर्मित शिव मन्दिरमा मूर्ति स्थापना तथा उद्घाटन गरिएको छ । पूर्वकानुनमन्त्री तथा संविधानसभा सदस्य बृजेश कुमार गुप्ता र वडा अध्यक्ष शिवकुमार पाण्डेयले संयुक्त रूपमा मन्दिरको मूर्ति स्थापना तथा उद्घाटन गर्नुभएको हो ।
धार्मिक आस्था, आध्यात्मिक चेतना र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको मन्दिरमा आज आइतबार धार्मिक विधिअनुसार मूर्ति स्थापना तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । भगवान् शिवलाई शान्ति, शक्ति, करुणा, त्याग र कल्याणका प्रतीकका रूपमा पुजिने गरिन्छ ।
शिव मन्दिरको मूर्ति स्थापना तथा उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वकानुनमन्त्री तथा संविधानसभा सदस्य बृजेश कुमार गुप्ताले धर्म, संस्कृति र परम्पराको संरक्षणले समाजमा आपसी सद्भाव, एकता र सहिष्णुता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । उहाँले भगवान् शिव शान्ति, त्याग, करुणा र कल्याणका प्रतीक भएको उल्लेख गर्दै धार्मिक स्थलहरूले मानिसलाई सकारात्मक सोच, नैतिकता र सामाजिक सेवाप्रति प्रेरित गर्ने बताउनुभएको छ ।
स्थानीयस्तरमा मन्दिर तथा अन्य धार्मिक सम्पदाको संरक्षण र विकास गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै गुप्ताले धार्मिक आस्थालाई सामाजिक एकता र सद्भाव अभिवृद्धिको माध्यम बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले मन्दिर निर्माण तथा मूर्ति स्थापना कार्यमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिँदै यस धार्मिक स्थलले स्थानीयवासीको आस्था, विश्वास र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
मन्दिरको स्थापना र मूर्ति स्थापनाले स्थानीयवासीको धार्मिक आस्थालाई थप बलियो बनाउनुका साथै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । मन्दिरले स्थानीय श्रद्धालु भक्तजनलाई नियमित पूजाआजा तथा धार्मिक अनुष्ठान गर्न सहज बनाउने विश्वास गरिएको छ । साथै, धार्मिक गतिविधिमार्फत समुदायबीच आपसी सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमका आयोजक समेत रहनुभएका वडा अध्यक्ष पाण्डेयले स्थानीयस्तरमा धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा मन्दिरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । वडाध्यक्ष शिवकुमार पाण्डेयको अध्यक्षता, पूर्वकानुनमन्त्री तथा संविधानसभा सदस्य बृजेश कुमार गुप्ताको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा दोहनी स्वास्थ्य चौकीका इन्चार्ज हरिशरण गौतमको स्वागत र सन्तोष कुमार पाण्डेयको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्ष रबेन्द्रनाथ तिवारी, मोहनलाल शर्मा, रामगोपाल यादव, बाणगंगा जलउपभोक्ता समितीका अध्यक्ष मोहन शर्मा लगायतको आतिथ्यता रहेको थियो । मूर्ति स्थापना तथा उद्घाटनका अवसरमा भगवान् शिवको आराधना गर्दै स्थानीयवासीको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गरिएको थियो ।










