कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिंगेदेखि चन्द्रौटासम्मको सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ। करिब १९.२ किलोमिटर लामो सडकलाई चार लेनमा विस्तार गर्ने जिम्मेवारी चिनियाँ निर्माण कम्पनी चाइना एमसीसी १७ ग्रुपले पाएको छ।
प्रतिस्पर्धामा सहभागी अन्य ११ कम्पनीलाई पछि पार्दै उक्त कम्पनीले ४ अर्ब ५६ करोड ६६ लाख रुपैयाँमा निर्माण ठेक्का प्राप्त गरेको हो। भ्याट तथा प्रोभिजनल सम (पीएस) सहितको उक्त रकममा कम्पनीले ३० महिनाभित्र सडक निर्माण सम्पन्न गर्नुपर्नेछ। निर्माण सकिएपछि थप पाँच वर्षसम्म सडकको मर्मतसम्भार गर्ने जिम्मेवारी पनि कम्पनीकै रहनेछ।
सडक विस्तार गर्दा सहरी क्षेत्रलाई ५० मिटर, अर्धसहरी क्षेत्रलाई ३७.४ मिटर र ग्रामीण क्षेत्रलाई २४ मिटर चौडा बनाउने योजना छ। आयोजनाअन्तर्गत १२ वटा नयाँ पुल, पाइप कल्भर्टसहित ७१ वटा कल्भर्ट तथा चन्द्रौटा चोकमा सवारी आवागमन सहज बनाउन ८०० मिटर लामो भेहिकल अन्डरपास निर्माण गरिनेछ।
यता, बुटवलदेखि गोरुसिंगेसम्मको ५० किलोमिटर सडक विस्तारको काम यसअघि नै सुरु भइसकेको छ। २०८१ साल असारमा ठेक्का सम्झौता भएको उक्त खण्डमा शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड र आशिष निर्माण सेवा प्रालिको संयुक्त उपक्रमले १३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिरहेको छ।
दुई प्याकेजमा सञ्चालन भइरहेको सो आयोजनामा सडकमा माटो भर्ने, भित्ता काट्ने, टेवा पर्खाल निर्माण, पुल, कल्भर्ट, अन्डरपास तथा वन्यजन्तु आवतजावतका संरचना बनाउने काम भइरहेको छ। प्राप्त विवरणअनुसार यस खण्डको एकतिहाइभन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ।
त्यसैगरी, बुटवल–चन्द्रौटा सडकअन्तर्गत तिनाउ नदीमा आकर्षक डिजाइनसहितको ‘सिग्नेचर पुल’ निर्माणका लागि पनि छुट्टै ठेक्का सम्झौता गरिएको छ। उक्त पुल निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी एमआरएस आनहुई सिनजियान होल्डिङ ग्रुपले करिब १ अर्ब ७० करोड ५३ लाख रुपैयाँमा पाएको हो।
बुटवलदेखि चन्द्रौटासम्मको कुल ६९ किलोमिटर राजमार्ग चार लेनमा विस्तार भएपछि कपिलवस्तु र रुपन्देहीबीचको यातायात थप सहज हुनुका साथै सडक सुरक्षा, व्यापारिक गतिविधि र स्थानीय आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।









