कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१०, ढडिहवामा आयोजित नकआउट भलिबल प्रतियोगिताको उपाधि रजवापुर युवा क्लबले जितेको छ । सगरमाथा युवा क्लब ढडिहवाको आयोजनामा असोज २४ गते सम्पन्न प्रतियोगितामा आयोजक क्लब उपविजेता बनेको हो ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाबीच आपसी सद्भाव अभिवृद्धि तथा ग्रामीण क्षेत्रमा रहेका खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा आठवटा टिम सहभागी भएका थिए ।
सगरमाथा युवा क्लबका अध्यक्ष गोविन्द थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष सन्दीप पाण्डेय प्रमुख अतिथि तथा स्थानीय युवा खेलप्रेमी विनोद केवट विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा हनुमान केवटलगायत स्थानीय समाजसेवी तथा खेलप्रेमीहरूको उपस्थिति थियो ।
प्रतियोगिताको उद्घाटन वडाध्यक्ष पाण्डेय र विशिष्ट अतिथि केवटले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष पाण्डेयले स्थानीय स्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले युवाहरूको प्रतिभा उजागर गर्नुका साथै अनुशासन, एकता र सकारात्मक सोचको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ग्रामीण क्षेत्रमा रहेका प्रतिभावान् खेलाडीलाई अवसर प्रदान गर्न यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।
विशिष्ट अतिथि केवटले स्थानीय युवाहरूको सक्रियतामा प्रतियोगिता आयोजना हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
आयोजक क्लबका अध्यक्ष थारुले ग्रामीण क्षेत्रमा रहेका खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । गाउँघरमा खेलकुदप्रति रुचि भएका धेरै युवा रहे पनि उनीहरूले आफ्नो प्रतिभा देखाउने पर्याप्त अवसर नपाएको उल्लेख गर्दै उहाँले त्यस्ता खेलाडीलाई प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम भएको रजवापुर युवा क्लब र द्वितीय भएको आयोजक सगरमाथा युवा क्लबका खेलाडीलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडीलाई विशिष्ट अतिथि विनोद केवटले पुरस्कार र मेडल वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको मुख्य प्रायोजन गोरुसिङ्गेस्थित जनसेवा स्टेसनरीका सञ्चालक सुनील पाण्डेयले गर्नुभएको थियो । स्थानीय युवा खेलप्रेमी विनोद केवट र हनुमान केवटले पनि व्यक्तिगत रूपमा सहयोग गर्नुभएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहभागी टिम, स्थानीय खेलप्रेमी तथा अन्य सहयोगीप्रति आभार व्यक्त गर्दै अध्यक्ष थारुले आगामी दिनमा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
स्थानीय युवाको सक्रियता र खेलप्रेमीहरूको सहयोगमा सम्पन्न प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकुद प्रतिको आकर्षण बढाउनुका साथै नयाँ खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
भुपाल थापाबाट









