कपिलवस्तु । नेकपा एमालेबाट निर्वाचित भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका कपिलवस्तुको विजयनगर गाउँपालिकाका दुई जना जनप्रतिनिधि पदमुक्त भएका छन्।
विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र वडा नम्बर ५ का वडाध्यक्ष अनवर मोहमद मुसलमान पदमुक्त भएका हुन ।
नेकपा एमालेको सिफारिसअनुसार निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै उनीहरू पदमुक्त भएको जानकारी गराएको हो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित दुवै जनाले पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए। उपाध्यक्ष चौधरी लगातार दुई कार्यकाल गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
एमालेले उनीहरूले पार्टीको विधानविपरीत गतिविधि गर्दै दल त्याग गरेको निष्कर्ष निकालेर कारबाहीको निर्णय गरेको थियो। पार्टीको केन्द्रीय सचिवालयले उक्त निर्णय निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले उनीहरू पदमुक्त भएको सूचना सार्वजनिक गरेको हो।
यससँगै विजयनगर गाउँपालिकामा उपाध्यक्ष र वडा नम्बर ५ को वडाध्यक्ष पद रिक्त भएको छ।









