कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुर कोलनी चोकबाट प्रहरीले बिलमा बिजक नम्बर उल्लेख नभएको ठूलो परिमाणको रेडिमेड सर्ट बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको ७ जनाको प्रहरी टोलीले सोमबार बिहान करिब १०ः३० बजे पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बा.प्र.०१००७ ख ०४३० नम्बरको कन्टेनरबाट ७ हजार १५२ पिस रेडिमेड सर्ट बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद रेडिमेड सर्टको भ्याटसहित अनुमानित मूल्य रु. ५२ लाख ५३ हजार १४४ रहेको छ। यस्तै, कन्टेनरको अनुमानित मूल्य रु. ३० लाख रहेको प्रहरीले जनाएको छ।
सामान र कन्टेनरसहित कुल रु. ८२ लाख ५३ हजार १४४ बराबरको मूल्यांकन गरिएको छ।
बरामद सामग्री र कन्टेनरलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









