कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा २५ सय भन्दा बढी बालबालिकालाई ‘स्वर्ण बिन्दु प्राशन’ गराइएको छ। बालबालिकाको स्वास्थ्य प्रवद्र्धनसँगै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय कार्यक्रमअन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र शिवराजको आयोजनामा शिवराज–५ स्थित आधारभूत अस्पतालमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा २५ सय भन्दा बढी बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको नागरिक आरोग्य सेवा केन्द्र चन्द्रौटाका प्रमुख सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो। पालिकाभरिका बालबालिकालाई एउटै स्थानबाट सेवा दिँदा अत्यधिक भिडभाड भएकाले आगामी महिनादेखि वडा–वडामै पुगेर स्वर्ण बिन्दु प्राशन सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। यो आयुवेर्द तथा बैकल्पिक बिभागको निर्देशन बमोजिम एक कार्यक्रम एक ठाँउ भन्ने निर्देशन बमोजिम पालिका भरका बालबालिकालाई एकै ठाँउ बाट सेवा दिंदा कार्यक्रम भिडभाडले अस्तब्यस्त भएको पाण्डेले बताउनु भयो ।
एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको स्वर्ण बिन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिएको मात्रामा खुवाइनेछ। ज्वरो, अजीर्ण, पखाला, आउँ तथा रुघाखोकी भएका बालबालिकालाई भने कार्यक्रममा सहभागी नगराइने जनाइएको छ।
कार्यक्रममा नगर प्रमुख अजय थापाले स्वर्ण बिन्दु प्राशनले बालबालिकाको स्वास्थ्य प्रवद्र्धन तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो। यसले कुपोषणको समस्या न्यूनीकरणसँगै बालबालिकाको स्मरण शक्ति, एकाग्रता र बौद्धिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।
नगर उपप्रमुख शिवकुमारी चौधरीले बालबालिकाको स्वास्थ्य संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। लक्षित उमेर समूहका सबै बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिदैं आगामी दिनमा हुने कार्यक्रम वडाबाटै नागरिकलाई सेवा दिन कार्यक्रमको आयोजक संस्था नागरिक आरोग्य केन्द्र लाई आग्रह गर्नु भयो।
त्यस्तै, वडा अध्यक्ष नेत्रप्रसाद बेल्बासेले राष्ट्रिय अभियानका रूपमा सञ्चालन भइरहेको स्वर्ण बिन्दु प्राशन कार्यक्रम शिवराजमा पनि प्रभावकारी रूपमा अघि बढेको बताउनुभयो।
कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले गर्नुभएको थियो।









