कृष्णनगर - नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा सांसद अभिषेकप्रताप शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
कपिलवस्तु क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनुभएका शाहले मधेशी आरक्षणतर्फ सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।
शाहले आइतबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै पार्टी, मधेश तथा समग्र देशको हित र विकासका विषयलाई प्राथमिकतामा राखेर सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सह–महामन्त्री (मधेशी आरक्षण) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ।
शाह नेपाली कांग्रेसमा युवा नेताका रूपमा सक्रिय रहनुभएको छ। उहाँ कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्छ।









