कपिलवस्तु । थारु कल्याणकारिणी सभा (थाकस) कपिलवस्तुले बाढीपीडितका लागि ६ लाख ३८ हजार ७ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहतका लागि जिल्लाका विभिन्न पालिकामा रहेका थाकस नगर तथा गाउँ समितिको पहलमा उक्त रकम संकलन गरिएको हो।
थाकसका अनुसार शिवराज नगरपालिकाबाट २ लाख ७९ हजार ८ सय ५५ रुपैयाँ, बुद्धभूमि नगरपालिकाबाट २ लाख ८८ हजार ९ सय ९५ रुपैयाँ र विजयनगर गाउँपालिकाबाट ६९ हजार ८ सय ५० रुपैयाँ संकलन गरिएको हो।
त्यस्तै, बाणगंगा नगर समितिले बाढीपीडितका लागि १ सय ३० क्विन्टल चामल र ५ क्विन्टल दाल सम्बन्धित स्थानमा पठाउन तयारी गरेको जनाएको छ।
थाकस नगर समितिको नेतृत्वमा पालिकाभित्र रहेका थारु गाउँका टोल–टोलका बरघर (थारु अगुवा) को सहयोगमा रकम संकलन गरिएको थाकस शिवराज नगर सभापति प्रकाश चौधरीले जानकारी दिनुभयो।
संकलित रकम जम्मा गरिएको सक्कली बैंक भौचर थाकस कपिलवस्तुका सभापति पवनकुमार थारुको अगुवाइमा मंगलबार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बुझाइएको चौधरीले बताउनुभयो।









