कपिलवस्तु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी अघि बढेसँगै कपिलवस्तुको शिवराज नगरपालिकामा नगर सभापतिको नेतृत्वका लागि तीन जनाको नाम चर्चामा आएको छ। हालका नगर सभापति मधु पोख्रेल, नगर सचिव विष्णु पोख्रेल र राजु खराल सम्भावित आकांक्षीका रूपमा चर्चामा छन्।
नगर सचिव विष्णु पोख्रेलले सामाजिक सञ्जालमार्फत नगर सभापतिका लागि आफ्नो दाबी सार्वजनिक गरेपछि शिवराज कांग्रेसभित्र आगामी नेतृत्वको विषय थप चर्चामा आएको हो।
हालका नगर सभापति मधु पोख्रेलले पनि नेतृत्वमा निरन्तरता दिने तयारी गरेको चर्चा छ। यस्तै, राजु खरालको नाम पनि सभापतिको आकांक्षीका रूपमा चर्चामा छ। खराल यसअघि पनि नगर सभापति पदमा उम्मेदवार बनेका थिए।
तीनै जनाको नाम चर्चामा आएपछि शिवराज कांग्रेसमा आगामी नगर नेतृत्वका लागि प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। यद्यपि, उम्मेदवारीको औपचारिक घोषणा र नेतृत्वका लागि हुने सहमतिको विषय भने अझै टुंगिएको छैन।महाधिवेशन नजिकिँदै जाँदा स्थानीय तहका नेता तथा कार्यकर्ताबीच नेतृत्व चयनलाई लिएर छलफल र भेटघाट बढ्न थालेका छन्। आगामी दिनमा उम्मेदवारी, समूहगत समीकरण र सहमतिको प्रयासले शिवराज कांग्रेसको नगर नेतृत्वको तस्वीर थप स्पष्ट हुने देखिन्छ।









