मंसिर ६ गते । लुम्बिनी प्रदेशका पालिकामध्ये शिक्षा क्षेत्रमा कपिलवस्तुको शिवराज नगरपालिका अब्बल देखिएको छ । नगरपालिकाले हाँसिल गरेका विभिन्न उपलब्धिको आधारमा प्रधानाध्यापक संघ, नेपालले शिवराज नगरपालिकालाई सम्मान गरेको छ ।
शुक्रबार मधेश प्रदेशको जनकपुरमा आयोजित संघको तेस्रो सम्मेलनमा पालिकाको तर्फबाट नगरप्रमुख अजय थापाले सम्मान पत्र ग्रहण गर्नुभयो । प्रधानाध्यापक संघले देशभरका उत्कृष्ट नजिता ल्याउने पालिका, शैक्षिक संस्था एवं शिक्षासँग सरोकार राख्ने उत्कृष्ट व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।
समग्र पालिकाको नजिता, शिक्षामा पालिकाको लगानी, समन्वय र सहकार्यका आधारमा शिवराज नगरपालिकालाई उत्कृष्ट पालिकाको रुपमा सम्मान गरेको नगरप्रमुख अजय थापाले जानकारी दिनुभयो । शिवराज नगरपालिकाले स्थानीय तह निर्वाचन २०७९ पछिको हालसम्म शिक्षा क्षेत्रमा नीतिगत सुधार, निःशुल्क शिक्षाको कार्यान्वयन, शिक्षक व्यवस्थापन, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा उल्लेखनीय कार्यहरू गरेको थापाले बताउनुभएको छ ।
स्थानीय तह निर्वाचन २०७९ पछि नगरसभाले ’अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७९’ पारित गरी स्थानीय राजपत्रमा प्रकाशन गर्यो । यसले कक्षा १२ सम्मको शिक्षालाई कानुनी रूपमै निःशुल्क बनाउने बाटो खोलेको हो । नगरपालिकाले ’अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७९’ जारी गरी स्थानीय राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको छ ।
यस्तै नगरपालिकाले शैक्षिक सत्र २०८० देखि नगर कार्यपालिकाको निर्णयअनुसार पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा १२ (माध्यमिक तह) सम्मको अध्ययन पूर्ण रूपमा निःशुल्क गरेको छ । विद्यालयले परीक्षा शुल्क, भर्ना शुल्क वा अन्य कुनै पनि बहानामा अभिभावकसँग शुल्क उठाउन नपाउने व्यवस्था गरिएको नगरप्रमुख थापाले जनाउनुभयो ।
पालिकाको यस निर्णयबाट पालिकाभित्रका ५५ सामुदायिक तथा १० वटा धार्मिक विद्यालय (मदरसा) गरी कुल ६५ विद्यालयमा अध्ययनरत २१ हजार २४६ भन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
विद्यालयमा विषयगत शिक्षक अभाव टार्न र अभिभावकसँग चन्दा उठाएर निजी स्रोतका शिक्षक पाल्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले आन्तरिक स्रोतबाट १६३ जना नगर शिक्षकको दरबन्दी सिर्जना गरी नियुक्ति गरेको छ । यसले निजी स्रोतमा शिक्षक राख्न अभिभावकसँग चन्दा वा शुल्क उठाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ ।
शुल्क नउठाउँदा विद्यालयमा हुने आर्थिक अभाव टार्न वार्षिक ६० लाख रुपैयाँ मसलन्द, स्टेशनरी तथा विद्युत महसुल अनुदानका लागि विनियोजन गरी वास्तविक बिलका आधारमा सोधभर्ना दिने प्रणाली सुरु गरिएको शिक्षा शाखा प्रमुख पूर्ण बहादुर बिश्वकर्माले जनाउनुभयो ।
यस्तै, बालविकास शिक्षक र कर्मचारीको पारिश्रमिक वृद्धि गरी शैक्षिक उन्नयनमा काम गरेको बिश्वकर्माले जनाउनुभयो । एसईई र कक्षा ८ को नतिजा सुधार गर्न पालिकाभरका सामुदायिक माध्यमिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि नगरकै खर्चमा अनिवार्य तथा निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिएको उहाको भनाइ छ ।
विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक सीप सिकाउन विद्यालयस्तरमै ’पढ्दै कमाउँदै’ अवधारणा अन्तर्गत परिकार बनाउने, कृषि तथा स्थानीय सीपमूलक प्रयोगात्मक सिकाइ कार्यक्रमहरू सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले जनाउनुभयो ।
नगरपालिकाका प्रमुख थापाले शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक एवं सिंगो समुदायको कारण यो सफलता प्राप्त भएको बताउनुभयो । आफु निर्वाचित भएपश्चात पहिलो निणर्य नै निशुल्क शिक्षा बारे गरिएको बताउँदै शिवराजमा बिकासात्मक कार्यले गति लिएको दाबी समेत गर्नुभएको छ ।
भुपाल थापाबाट









