मंसिर ८ गते । कपिलवस्तु । तौलिहवा आँखा अस्पतालले पछिल्लो तीन आर्थिक वर्षमा एक लाख ३ हजार ४ सय ५६ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्मको अवधिमा उक्त सङ्ख्यामा बिरामीको आँखा परीक्षण तथा उपचार गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा ३२ हजार ९ सय ५, २०८१/८२ मा ३६ हजार १३ र २०८२/८३ मा ३४ हजार ५ सय ३८ जनाले सेवा लिएका छन् । तीन वर्षको अवधिमा अस्पतालले ५ हजार १ सय ५९ वटा आँखाको शल्यक्रियासमेत सम्पन्न गरेको छ ।
अस्पतालले नियमित उपचार सेवासँगै विद्यालय केन्द्रित आँखा जाँच, निःशुल्क आँखा शिविर, शल्यक्रिया तथा स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिँदै सेवा विस्तार गरेको हो ।
विद्यालयमा आँखा स्वास्थ्य सेवा विस्तार गर्ने अभियानअन्तर्गत तीन वर्षमा २१ हजार ९ सय ५१ जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा आवश्यक देखिएका ९ सय ६३ जना विद्यार्थीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको अस्पतालले जनाएको छ ।
त्यस्तै, अस्पतालले सञ्चालन गरेका निःशुल्क आँखा शिविरमार्फत १८ हजार ५ सय ५८ जनाको आँखा परीक्षण गरेको छ । शिविरमा पहिचान भएका बिरामीमध्ये ३ हजार ४ सय ५ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
तौलिहवा आँखा अस्पतालप्रति छिमेकी मुलुक भारतका बिरामीको आकर्षणसमेत बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा भारतबाट आएका ९ हजार ५४ जनाले अस्पतालबाट आँखा उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा २ हजार ४ सय ८३ जना भारतीय बिरामीले सेवा लिएकामा २०८२/८३ मा यो सङ्ख्या बढेर ३ हजार ३ सय ३७ पुगेको छ ।
अस्पतालले आँखा स्वास्थ्य सेवालाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा स्वास्थ्य चौकीका कर्मचारीलाई समेत तालिम प्रदान गर्दै आएको छ । तीन वर्षमा १ सय ५५ जना महिला स्वास्थ्य स्वयंसेविका र १ सय ४२ जना शिक्षकलाई निःशुल्क आँखा स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरिएको छ ।
अस्पतालको सेवा विस्तारमा सञ्चालक समिति र व्यवस्थापन टोलीको सक्रिय भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष मनोज श्रीवास्तवले आगामी वर्षहरूमा उपचार सेवा, शल्यक्रिया, विद्यालय आँखा जाँच तथा सीमापारिका बिरामीलाई प्रदान गरिने सेवाको दायरा थप विस्तार गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले सञ्चालक समिति तथा व्यवस्थापन टोलीको नेतृत्वमा सञ्चालन भइरहेका कार्यक्रमले तौलिहवा आँखा अस्पताललाई कपिलवस्तुसँगै सीमावर्ती क्षेत्रका बिरामीका लागि समेत आँखा उपचारको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याएको बताउनुभयो ।
नियमित उपचार सेवासँगै निःशुल्क शिविर, विद्यालय आँखा परीक्षण र जनशक्ति क्षमता अभिवृद्धिमा दिइएको प्राथमिकताले अस्पतालको सेवा पहुँच विस्तार हुँदै गएको कार्यसम्पादन विवरणले देखाएको छ ।
भुपाल थापाबाट









