कार्तिक शुक्ल पूर्णिमाको अवसरमा कपिलवस्तुका ८ पालिकाले बिदा दिएका छन् । पूर्णिमा र नाहान मेलाकाको अवसरमा आज मंगलबार कपिलवस्तु नगरपालिका ,शिवराज नगरपालिका , महाराजगन्ज नगरपालिका , कृष्णनगर र एवं मायादेवी, शुद्धोदन र यशोधरा र विजयनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
कार्तिक पूर्णिमाका दिन जिल्लाको बाणगंगा नदीको रामघाट, बर्गदीघाट लक्ष्मण घाट लगायतका नदी किनारमा मेला लाग्ने गर्छ । पालिकाहरूले सोमबार सूचना जारी गर्दै पालिकाका सबै कार्यालय र विद्यालय बन्द हुने बताएका छन् ।अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द हुने जनाइएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सदरमुकाम तौलिहवानजिक रामघाटमा ठुलो मेला लाग्ने गर्छ । त्यस्तै लक्ष्मणघाट, सीताघाट, बर्गदीघाट र सन्तघाटमा पनि मेला लाग्ने गर्छ । तराईमा कार्तिक शुक्ल पूर्णिमालाई ठुलो पर्वका रूपमा मानिन्छ ।
कार्तिक पूर्णिमाको अवसरमा कपिलवस्तु जिल्लाका विभिन्न १९ स्थानमा मेला लाग्ने भएको छ । जिल्लाका आठ स्थानीय तहका नदी, घाट तथा धार्मिक स्थलमा परम्परागत रूपमा मेला लाग्ने भएको हो । पुर्णिमाको अवसरमा कपिलवस्तु नगरपालिका–३ रामघाटमा मेला लाग्नेछ । त्यस्तै महाराजगञ्ज नगरपालिकाका तीन स्थानमा मेला आयोजना हुनेछ । वडा नम्बर ४ कचहरहवास्थित शिवालय मन्दिर, वडा नम्बर २ बरगदीघाट र वडा नम्बर ७ गंगौडीमा मेला लाग्नेछ ।बाणगंगा नगरपालिकाको वडा नम्बर ६ मनोहरपुर र लक्ष्मणघाटमा मेला लाग्नेछ भने शिवराज नगरपालिकाको वडा ५ को समिति चोक , वडा नम्बर ११ ककरहवा घाट र वडा नम्बर ८ लक्ष्मणघाटमा मेला आयोजना हुनेछ ।कृष्णनगर नगरपालिकाका तीन स्थानमा मेला लाग्ने भएको छ ।
वडा नम्बर ८ दयानगरस्थित सुरही खोला, वडा नम्बर ११ मानपुर चर्गहवा नदी किनार र वडा नम्बर ४ महादेवा तुल्सीघाटमा मेला लाग्नेछ ।बुद्धभूमि नगरपालिकाको वडा नम्बर ७ महादेवा घाट, वडा नम्बर ८ चरिगवा र वडा नम्बर १० चेतरादेही रामघाटमा पनि मेला लाग्ने विवरणमा उल्लेख छ ।त्यस्तै, यशोधरा गाउँपालिकाका तीन स्थानमा मेला लाग्ने भएको छ । गाउँपालिकाको वडा नम्बर ७ बेलासपुर, वडा नम्बर ४ परसोहिया पुल र वडा नम्बर १ तितिरखीमा मेला लाग्नेछ ।
विजयनगर गाउँपालिकाको वडा नम्बर ६ चापा स्थित सेमरीघाट र वडा नम्बर ४ शंकरपुर नहान मेला स्थलमा पनि मेला लाग्नेछ ।कार्तिक पूर्णिमाका अवसरमा नदी तथा घाटमा स्नान गर्ने, पूजाआजा गर्ने र मेलामा सहभागी हुने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ । मेलामा जिल्लाका विभिन्न स्थानबाट श्रद्धालु तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ ।









