कपिलवस्तु - कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले वन संरक्षणसँगै वनबाट प्राप्त हुने लाभ समुदायको हितमा उपयोग हुनुपर्ने बताउनुभयो। उहाँले वन स्रोतको दिगो व्यवस्थापन गर्दै उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख गणेशबहादुर खड्काले वन संरक्षण तथा व्यवस्थापनका विषयमा धारणा राख्नुभएको थियो।
शिवराज नगरपालिका–५ का वडा अध्यक्ष नेत्र बेल्वासेले उपभोक्ताको आवश्यकतालाई आधार बनाएर काठ वितरण गर्नुपर्ने बताउनुभयो। वनबाट प्राप्त काठ वास्तविक आवश्यकता भएका उपभोक्ताले सहज रूपमा पाउने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो।
सभामा समूहका अध्यक्ष हरि पोखरेलले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा चालु वर्ष ८ सय ४६ वटा रुख कटान गर्ने उल्लेख गरिएको छ।
साधारणसभाले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गर्ने निर्णय समेत गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो।
साधारणसभामा वन संरक्षण, व्यवस्थापन, काठ वितरण तथा उपभोक्ताको हितलगायतका विषयमा छलफल भएको थियो। कार्यक्रममा समूहका पदाधिकारी, सदस्य तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो।









