काठमाडौँ — चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले आफूलाई नेपाली सेनाले भरखरै यसबारे जानकारी गराएको बताए ।
'मैले जानकारी पाउनासाथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित सम्बन्धित निकायमा जानकारी गराएँ र त्यहीअनुसार समन्वय भइरहेको छ,' उनले भने ।
चीनको जलस्रोत मन्त्रालयले छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै ठूलो जलाशययुक्त ताल (ब्यारियर लेक) बनेको हिजो जनाएको थियो । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालेको मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको थियो ।









