कपिलवस्तु । शिवराज नगरपालिकाले चन्द्रौटा मुख्य चोकमा एसीसहितको स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ। सार्वजनिक स्थानमा शिशुलाई स्तनपान गराउन आमाहरूलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले करिब ६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको कक्ष आजदेखि सञ्चालनमा आएको हो।
व्यस्त बजार तथा सार्वजनिक स्थानमा शिशुसहित आउने आमाहरूले सहज, सुरक्षित र गोप्य वातावरणमा स्तनपान गराउन सकून् भन्ने उद्देश्यले कक्ष स्थापना गरिएको नगरपालिकाले जनाएको छ। एसीसहितको सुविधा भएकाले गर्मीको समयमा समेत आमा र शिशुलाई आरामदायी वातावरण उपलब्ध हुनेछ।
नगर प्रमुख अजय थापाले स्तनपान कक्ष सञ्चालनले सार्वजनिक स्थानमा आमाहरूले भोग्दै आएको असहजता हटाउँदै आमा तथा शिशुमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताउनुभयो। उहाँले आगामी दिनमा यस्ता जनमुखी सेवाहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो।
शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले आमा र शिशुको स्वास्थ्य तथा सम्मानसँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर स्तनपान कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले सार्वजनिक स्थानमा आमाहरूलाई सहज वातावरण उपलब्ध गराउनु स्थानीय सरकारको जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
स्तनपान सप्ताहको अवसरमा पालिकाले स्तनपान शिशुको पोषण र स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण भएकाले आमाहरूलाई सार्वजनिक स्थानमै सहज रूपमा स्तनपान कक्ष सुरु गरेको महिला तथा बालबालिका शाखाकी जिबा केसीले बताउनु भयो । उहाँले कक्षको उचित प्रयोग र संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले व्यस्त बजार क्षेत्रमा स्तनपान कक्षको आवश्यकता रहेको उल्लेख गर्दै नगरपालिकाको पहलले बजारमा आउने आमाहरूलाई ठूलो राहत पुग्ने बताउनुभयो।
त्यस्तै, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु खतिवडाले आमा र शिशुको अधिकार तथा सम्मानजनक जीवनयापनसँग जोडिएको यस्तो सेवा सार्वजनिक स्थानमा आवश्यक रहेको बताउँदै स्तनपान कक्ष सञ्चालनलाई सकारात्मक कदमका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
स्तनपान कक्ष सञ्चालनमा आएसँगै चन्द्रौटा बजारमा आउने आमाहरूले बच्चालाई समयमै आमाको दूध खुवाउन सक्ने र सार्वजनिक स्थानमा स्तनपान गराउँदा हुने असहजता तथा संकोच कम हुने अपेक्षा गरिएको छ। नगरपालिकाको यो पहलले आमा–शिशुमैत्री सार्वजनिक सेवा प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।









